२८ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा रोमाञ्चक जीतको साथ लंकापाड़ा मिलन क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो । रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार खेलिएको तेस्रो क्वार्टर म्याचमा लंकापाड़ा मिलन क्लबले ब्राइट स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुमन विश्वकर्मा, समीप गुरुङ र सोनम लेप्चाले १-१ गोल गरे। यसरी नै ब्राइट एससी-बाट खोकन रोयले १ गोल गरे। विजेता टीमका समीप गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ३१ जुलाईमा खेलिने चौथो क्वार्टर फाइनलमा तेलेपाड़ा फूटबल एकाडमी (टीएफए) र दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।