आजबाट बंगालमा फेरि न्याय यात्रा शुरु
पश्चिम बंगाल/सिलगढी। कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको भारत जोडो न्याय यात्रा दुई दिनको विश्रामपछि आइतबार दिउँसो फेरि शुरु हुँदैछ। यसका लागि राहुल गान्धी उत्तरबंगाल पुगेका छन्। तर बागडोगरा विमानस्थलमा पुगेपछि बिहारमा चलिरहेको राजनीतिक उथलपुथल र नितिश कुमारको राजीनामाबारे सोध्दा उनले केही भन्न मानेनन्। बागडोगरा एयरपोर्टमा पुग्दा राहुल गान्धीलाई कंग्रेस समर्थकहरूले न्यानो स्वागत गरेका थिए। राहुल गान्धीले आज जलपाइगढीबाट अर्को चरणको यात्रा शुरु गर्न लागेका छन्। राहुल गान्धीको न्याय यात्रा २५ जनवरीको बिहान असमबाट पश्चिम बंगाल प्रवेश गरेको थियो भने कोचबिहारमा रोड शो गरेपछि राहुल गान्धी दुई दिनको ब्रेकका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए। यस वर्षको यात्राको मुख्य आकर्षण दैनिक पदयात्रा र ‘डोनेट फर जस्टिस’ अभियान हुनेछ, जसमा क्यूआर कोड स्क्यान गरी प्रति किलोमिटर न्यूनतम एक पैसा चन्दा दिन सकिनेछ। यसमा राहुल गान्धीले हस्ताक्षर गरेको सहयोगको सम्झनामा एउटा भव्य किटमा टी-शर्ट समावेश छ जुन एआईसीसीले ६७,००० रुपैयाँ भन्दा बढीको सहायता रकममा प्रमाणपत्र सहित प्रदान गर्नेछ।










