मेलबर्न, २८ जनवरीः उमेर केवल एउटा आँकड़ा हो अनि मनमा केही हासिल गर्ने दृढ़संकल्प रहे असम्भव केही छैन भन्ने कथनलाई सही साबित गरेका छन् भारतका अनुभवी टेनिस खेलाड़ी रोहन बोपन्नाले। उनले ४३ वर्ष र ९ महिनाको उमेरमा अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगलको खिताब जितेर इतिहास रचे। उनले ३६ वर्षीय अष्ट्रेलियाई जोड़ीदार म्याथ्यू एबडेनसँग मिलेर इटलीका साइमन बोलेली (३८ वर्षीय) र आन्द्रिया वावासोरी (२८ वर्षीय)-को जोड़ीलाई फाइनलमा ७-६, ७-५-ले पराजित गरे। यसरी बोपन्ना ओपन युगमा (१९६८-देखि) ग्राण्ड स्ल्याम खिताब जित्ने सबैभन्दा अधिक उमेरका पुरुष खेलाड़ी बने। यसअघि यो रेकर्ड जीन जूलियन रोजरको नाममा रहेको थियो, जसले मार्सेलो अरेवोलासँग ४० सालको उमेरमा २०२२-मा फ्रेञ्च ओपनमा पुरुष युगल खिताब जितेका थिए। पुरुष टेनिसमा बोपन्ना ग्राण्ड स्ल्याम खिताब जित्ने तेस्रो भारतीय हुन्। उनी बाहेक लिएण्डर पेस र महेश भूपतिले भारतको निम्ति ग्राण्ड स्ल्याम खिताब जितेका छन्। यसरी महिला वर्गमा एकमात्र सानिया मिर्जाले यस उपलब्धिलाई हासिल गरेकी छन्।
बोपन्नाले फाइनल म्याच अघि नै युगल ऱ्यांकिंगमा शीर्ष स्थान सुनिश्चित गरेका थिए। अब सोमवार जारी गरिने युगल ऱ्यांकिंगमा उनी विश्वका नम्बर एक खेलाड़ी बन्नेछन्। यसरी ४३ वर्षको उमेरमा उनी विश्वका नम्बर एक खेलाड़ी बन्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी हुनेछन्। बोपन्ना र एबडेनको दोस्रो वरीयता प्राप्त जोड़ीलाई फाइनलमा जीत हासिल गर्न १ घण्टा ३९ मिनट समय लाग्यो।
भारतकै लिएण्डर पेसले ४० साल र २ महिनाको उमेरमा चेक गणराज्यका रादेक स्टेपानेकसँग २०१३-मा यूएस ओपनको खिताब जितेर ग्राण्ड स्ल्याम खिताब जित्ने सबैभन्दा अधिक उमेरका भारतीय खेलाड़ी बन्ने उपलब्धि हासिल गरेका थिए। यसरी अमेरिकाकी महान खेलाड़ी मार्टिना नव्रातिलोवाले ४९ साल र १० महिनाको उमेरमा बब ब्रायनसँग २००६-मा यूएस ओपनमा मिश्रित युगलको खिताब जितेकी थिइन्। उनी ओपन युगमा सबैभन्दा अधिक उमेरमा ग्राण्ड स्ल्याम जित्ने (पुरुष या महिला) खेलाड़ी हुन्।










