नयाँ दिल्ली: दिल्लीको कालकाजी मन्दिरमा अबेर राति ठूलो दुर्घटना भएको छ। यहाँ चर्चित गायक बी प्राकको जागरणका क्रममा मञ्च भत्किँदा एक महिलाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेहरूलाई एम्स ट्रमा, सफदरजंग र म्याक्स अस्पतालमा भर्ना गरिएको छ। गायक बी प्राकले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दुर्घटनाको खबर पाएलगत्तै राहत तथा उद्धारका लागि दमकलका तीन वटा गाडी घटनास्थलमा पुगेका थिए। घटनाको पुष्टि गर्दै दमकलका निर्देशक अतुल गर्गले आगलागी नियन्त्रण कक्षमा करिब १२:४७ बजे सूचना प्राप्त भएको बताए। कालकाजी मन्दिरमा जागरणको मञ्च भत्किँदा यो दुर्घटना भएको हो। घटनास्थलमा दमकलका तीनवटा गाडी पठाइएको थियो। पुलिसका अनुसार कालकाजी मन्दिरको महन्त परिसारमा माताको जागरणको आयोजना गरिएको थियो। समाचारअनुसार, राति साढे १२ बजे करिब १५००–१६०० मानिसको भीड त्यहाँ जम्मा भएको थियो। यस दुर्घटनामा ४५ वर्षकी एक महिलाको मृत्यु भएको समाचार छ।