सिक्किम ओलम्पिक एसोसिएशनले जनायो राज्य सरकारप्रति आभार प्रकट

गान्तोक: राज्यको खेल क्षेत्रलाई अघि बढ़ाउन राज्य सरकारद्वारा गरिएको पहलप्रति सिक्किम ओलम्पिक एसोसिएशनले आभार प्रकट गरेको छ। आज पत्रकार सम्मेलन आयोजन गरेर ओलम्पिक एसोसिएशन अफ् सिक्किमले हिजो सारथी सम्मान दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले मोठ ६४ लाख रुपियाँ प्रदान गरेकोमा संगठनका अध्यक्ष कुबेर भण्डारीले राज्य सरकारप्रति कृतज्ञता प्रकट गरे। उनले योसँगै सरकारद्वारा कर्पोरेट सोशल रेस्पोनसीविलिटी फण्ड (सीआरएस)उपलब्ध गराउने विषयमाथि पनि खुशी व्यक्त गरे। यसरी नै उनले राज्यका खेलाड़ीहरूलाई राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरसम्मको मञ्चमा पुऱ्याउन ठोस सहयोग पुग्ने विचार पोखे। २०१९-मा एसकेएम पार्टीको सरकार आएदेखि राज्यको खेल क्षेत्रमा थुप्रै परिवर्तन ल्याएको मन्तव्य पोख्दै भण्डारीले त्योअघि खेलाड़ीहरूलाई राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरसम्म पुऱ्याउन धेरै संघर्ष गर्नुपरेको सम्झना गरे। वर्तमान सरकारले सत्तामा आउनसाथै खेल क्षेत्रलाई जुन प्राथमिकता दिएर काम गरेको बताए। यसैको फलस्वरूप नाम्चीमा भाइचुङ स्टेडियम निर्माण कार्य पूरा हुनसकेको, पाल्जर स्टेडियममा नयाँ टर्फ लगाउने कार्य, खेल गाउँको निर्माण कार्य लगायत विविध कार्य भएको उल्लेख गर्दै यसको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै खेलमन्त्री कुङ्गा निमा लेप्चाप्रति उनले आभार प्रकट गरे। खेलाड़ीहरूलाई प्रेरणा दिन २०१९-देखि राष्ट्रिय खेल दिवस उत्सव आयोजना गर्दै विभिन्न खेलमा उपलब्धि हासिल गर्ने खेलाड़ीहरूलाई उक्त दिन प्रोत्साहन राशि दिने पहल सराहनीय रहेको उनले बताए। योसँगै राज्यबाहिर ठूल्ठूला प्रतियोगिताहरूमा अंशग्रहण गर्न जाने राज्यका खेलाड़ीहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले आफ्नो तर्फबाट सहयोग पुऱ्याउने सराहनीय कार्य गरिरहेको जानकारी गराए।

सिक्किम ओलम्पिक एसोसिएशनका महासचिव अर्जुन अवार्डी बक्सर जसलाल प्रधान, एथलेटिक्स एसोसिएशन अफ् सिक्किमका उपाध्यक्ष शम्भु प्रधान, कराँते एसोसिएशन अफ् सिक्किमका महासचिव बीबी सुब्बा, आर्चेरी एसोसिएशन अफ् सिक्किमका महासचिव डा. केबी गुरुङ, कार्यकारी सदस्य पाल्जोर भोटिया लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement