एसकेएम पार्टीले विपक्षी दलको चरित्र हनन गरेको छैन्- जेकब खालिङ
नामथाङ: धारावाहिक रुपमा सम्पन्न भइरहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सांगठनिक जनसभा आज नामथाङ रातेपानी समष्टिमा भव्यताको साथमा सम्पन्न भयो। आज आयोजित सांगठनिक जनसभामा एसकेएम पार्टीका सांगठनिक मुख्यसंयोजक एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रवक्ता जेकब खालिङ मुख्य अतिथिकोरुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा क्षेत्र विधायक एवं मन्त्री सञ्जित खरेल, संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानव, लगायत अन्यहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जेकब खालिङले अहिले सिक्किमे जनताले स्वर्णीण युगमा बाँच्न पाइरहेको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे जनतालाई स्वर्णीम क्षणहरूको उपभोग गराइरहेको खालिङले किटान गरे। यसलाई यथावत राख्नको निम्ति अब जनताले पनि जिम्मेवारी पुरा गर्नुपर्ने सुझाउ दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गर्नसाथै सबै क्षेत्रमा आमुल परिवर्तन भएको उनले दावी गरे। पूर्व सरकारकालमा चुनाउ सकिन साथै प्रत्याशीहरूलाई सहयोग नगर्नेहरूको सुची बनाउने गरिन्थ्यो तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन साथै त्यसको विपरित कुन कुन गरीब जनतालाई साहुलियत अनि सुविधाहरू दिनुपर्ने त्यसको सूची बनाएको जानकारी गराए। आजको जनभेलाले जनताले अवश्य कामको मुल्यांकन हुँदो रहेछ भन्ने प्रमाणित गरेको उनले बताए। केही समय यता मुख्यमन्त्री, मन्त्रीमण्डल साथै पार्टीका तमाम पदाधिकारी अनि कार्यकर्ताहरू चुपचाप रहेर केवल काममा मात्र ध्यान केन्द्रित गरेको हुँदा केही विपक्षीहरू नदिने शंखझैं बिनाअर्थको आवाज निकालिरहेको थियो तर अहिले एसकेएमले चुनावी मैदान तयार गरेर प्रत्येक समष्टिमा सभा आयोजना गरेपछि सबै चुपचाप लागेर आफ्नो बाटो लागेको उनले ठोकुवा गरे। एकताको सुत्रमा बाँधिएर अघि बढ़िरहेको सिक्किममा जातिय विभाजन ल्याउन विभिन्न प्रकारको हत्कण्डाहरू अप्नाइरहेकाहरूलाई अब जनताले उत्तर दिनुपर्ने समय आएको उनले सतर्क गराए। सत्तामा हुँदा पनि सिक्किम भरि कीर्ते पर्चाहरू बाँड़ेर नारी अनि आमाहरूलाई बदनाम गर्ने कार्य गरेका एसडीएफ पार्टीले अहिले सत्ताबाट सत्ताच्युत भएर पनि सामाजिक सञ्जालहरूमा नारीहरूको चरित्र हनन गर्दै विभिन्न प्रकारको अश्लिल चित्रहरू प्रकाशित गरेर घिनलाग्दो प्रचार गरिरहेको दावी गरे। यस्तो घिनलाग्दो कर्तुत गर्ने सबैलाई सरकारले कठोर कार्वाही गर्ने खालिङले आश्वासन दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले कहिल्यै पनि विपक्षीहरूको चरित्र हनन गर्ने कार्य नगरेको उनले बताए। यसरी नै आजको सांगठनिक कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानवले यहाँका जनताले अबको चुनाउमा नाम्ची जिल्लाको आठवटै समष्टिलाई जिताउने मनसाय लिएर अघि आउनु पर्ने बताए। वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको जनताप्रति नियत स्वच्छ रहेको हुँदा सिक्किमे जनताको निम्ति विभिन्न प्रकारको योजनाहरू अहिले राज्यमा शुरु भएको बताए। नारीहरूप्रति पनि उनको नियत चोखो रहेको कारण नारीहरूको निम्ति सिक्किम आमा सशक्तिकरण योजना, बहिनी योजना जस्ता विभिन्न नारीमुखी कार्यक्रमहरू राज्यमा चलिरहेको बताए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवं मन्त्री खरेलले यदि सिक्किममा एसकेएम पार्टीको सरकार गठन नभएको भए जनताले फेरि अन्याय र अत्यचार सहनु पर्ने किटान गरे।तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गरेर सबैले न्याय पाएको जानकारी गराए। २५ वर्षको तुलनामा नामथाङ क्षेत्रमा अहिले धेरै कामहरू भएको उनले दावी गरे। यसमध्ये सबैभन्दा ठूलो कार्य नामथाङलाई महकुमा बनाउनु रहेको उनले बताए। लामो समयदेखि यहाँको जनताले महकुमा निर्माणको माग गरेपनि त्यो मागलाई पुरा नगरेको तर पाँच वर्षमा नै मुख्यमन्त्री प्रेमसिंह तामाङले सुनवाई गर्दै माग पुरा गरेकोमा सबै जनताको पक्षबाट मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे।