गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यालयमा आज पार्टीको गाउँ चलौं अभियानलाई लिएर एक दिवसीय कार्यशाला सम्पन्न भयो। कार्यशालामा प्रदेश अध्यक्ष डीआर थापालगायत प्रदेश पदाधिकारीगण, विभिन्न मोर्चा, जिल्ला तथा मण्डल अध्यक्ष एवं महासचिवहरूको उपस्थिति रहेको जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।
कार्यशालामा विशेष रूपले भाजपा राष्ट्रिय सचिव डा. आशा लाकराले गाउँ चलौं अभियानका विभिन्न पहलुमाथि उपस्थित पदाधिकारीहरूलाई विस्तारपूर्वक जानकारी गराइन्। विशेष गरी आगामी राज्य विधानसभा तथा लोकसभा चुनाउलाई मध्यनजरमा राखेर शुरू गरिने यो अभियानले संगठनलाई विभिन्न स्तरमा मजबुती प्रदान गर्नका साथै पार्टीको भोट प्रतिशत वृद्धि गराउने राष्ट्रिय सचिवको धारणा थियो। उनले उपस्थित कार्यकर्ताहरूलाई सबै ३२ वटै निर्वाचन क्षेत्रमा सो अभियानलाई प्रभावी रूपले अघि बढ़ाउन आह्वान गरिन्।

यसै गरी आफ्नो सम्बोधनको क्रममा प्रदेश अध्यक्ष डीआर थापाले सिक्किमलाई सोचेर बनाइएको यस सांगठनिक अभियानलाई सबै स्तरबाट सफल बनाउन आह्वान गर्दै सबै कार्यकर्ताहरूलाई अबको २-३ महिना दिन-रात एक गरेर लागिपर्न आग्रह गरे। उनले हालै सम्पन्न विकसित भारत संकल्प अभियानमा पार्टी कार्यकर्ताहरूको सक्रिय भूमिकाको सराहना गर्दै अब सबैले चुनाउको तयारीमा लाग्नुपर्ने कुरामा जोर दिए। उनले विशेष गरी चुनाउ घोषणा पत्र तयार गर्नको निम्ति सबै कार्यकर्ताहरूबाट सुझाउहरूको आह्वान गर्दै पार्टीले राज्यका सबै मुद्दाहरूलाई सम्बोधन गरेर घोषणा पत्र तयार गरिने बताए।
यसअघि गाउँ चलौं अभियानका प्रदेश समन्वयक दिनेश चन्द्र नेपालले अभियानको रूपरेखा अनि कार्यकर्ताहरूको जिम्मेवारीमाथि आफ्नो सम्बोधन राखेका थिए। कार्यक्रमलाई पार्टी महासचिव अर्जुन राईले पनि सम्बोधन गरेका थिए।