सिक्किम प्रिमियर फुटबल लीगको दोस्रो चरण ३ फरवरीदेखि शुरू हुने

FB_IMG_1706365143135.jpg

गान्तोक: सिक्किम प्रिमियर फुटबल लीगको दोस्रो चरण आगामी ३ फरवरीदेखि शुरू हुने भएको छ। राजधानी गान्तोकको पाल्जर स्टेडियममा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित हुने भएका छन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा तथा सिक्किम सरकारको खेल तथा युवा मामिला विभागको प्रायोजनामा आयोजना हुने उक्त फुटबल महासंग्राममा कुल ८ वटा दलबीच भीडन्त हुनेछ भने यी खेलहरू गान्तोकको पाल्जर स्टेडियम तथा नाम्चीको भाईचुङ स्टेडियममा आयोजना हुने सिक्किम फुटबल डेभलोपमेन्ट प्राइभेट लिमिटेड (एफडीपीएल) का बोर्ड अफ डाईरेक्टरहरूले जानकारी गराएका छन्।

आज पाल्जर स्टेडियमको सम्मेलन कक्षमा एक पत्रकार सम्मेलनको आयोजना गरी बोर्डका सदस्यहरू सञ्जु प्रधान र विकास जैरूले सिक्किम प्रिमियर लीग दोस्रो चरणको आयोजना बारे जानकारी गराएका हुन्। सिक्किम प्रिमियर लीग पहिलो सिजनको अपार सफलतापछि दोस्रो चरणले पनि राज्यका फुटबलप्रेमी दर्शकहरूको मन जित्न सफल हुने उनीहरूले विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीको विशेष मार्गदर्शन र सुझाउ अनुरूप उद्घाटनीय खेलको अवसरमा स्थानीय कलाकारहरूद्वारा रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ। स्थानीय फुटबल खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ आयोजना हुने सिक्किम प्रिमियर लीगको अवसरमा भोकल फर लोकललाई विशेष प्राथमिकता दिंदै स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ।

जसमा गायिका रेमन्ती राईको थीम गीत लगायत मेरो भोइसका विजेता प्रितम राई, शिशिर ठटाल, दिव्या थापा र मोनिका राईले आ-आफ्नो सांगितिक प्रस्तुति दिनेछन् भने विवेक छेत्रीको पनि आफ्नो प्रस्तुति रहने बोर्डका निर्देशकहरूले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। यसैगरी सिक्किमकै डान्स समुह डीएफडीपीले पनि आफ्नो प्रस्तुति दिने जानकारी गराइएको छ।

यस प्रतियोगितामा पुरानै ८ वटा दलहरू र खेलाडीहरू पनि यथावत रहने सहभागी रहनेछन्। सिक्किम प्रिमियर फुटबल लीगको दोस्रो चरणलाई भव्यताका साथ सफल बनाउन खेल हेर्न आईदिन बोर्डका सदस्यहरूले सबैलाई हार्दिक आवहान पनि गरेका छन्। यस खेलको फाईनल एक महिनाभित्रमा हुन सक्ने जानकारी पनि गराइएको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष प्रोत्साहनमा यो लीग आयोजना भईरहेको बताउँदै उनीहरूले गत बर्षको भन्दा यस बर्ष अझै राम्रो हुने र दर्शकहरूको मन जित्न सफल हुने आशा जाहेर गरेका छन्। प्रतियोगिताको निम्ति खेलाडीहरू पुर्ण रूपमा तयार रहेको र युद्वस्तरमा प्रशिक्षण लिईरहेको पनि निर्देशक बोर्डका सदस्यहरूले पत्रकारहरूसितको कुराकानीको क्रममा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement