काेलकाता: भारतीय जनता पार्टी (भाजपा)- लोकसभा चुनाउका तयारीहरूलाई अन्तिम रूप दिन जुटेको छ। यसलाई मध्यनजर गर्दै केन्द्रिय गृहमन्त्री अमित शाह आइतवार बंगाल भ्रमणमा आइरहेका छन्।
यसपूर्व गत २९ दिसम्बरमा उनले कोलकाताको भिक्टोरिया हाउस नजिक आयोजित भाजपाको विराट सम्मेलनलाई सम्बोधन गरेका थिए।
बंगाल भाजपा सूत्र अनुसार अमित शाहको विमान आइतवार २८ जनवरीको राती ९:५५ बजे कोलकाता एयरपोर्टमा उत्रिनेछ। त्यहाँदेखि उनी सोझै न्यू टाउनस्थित पाँच तारा होटलमा गएर रात्रि विश्राम गर्नेछन्। सोमवार बिहान उनी सबैभन्दा पहिला उत्तर २४ परगनाको बारानगरस्थित महामिलन मठ जानेछन्। त्यहाँ मूर्ति दर्शन अनि नाम सङ्कीर्तनमा भाग लिनेछन्।
बिहान ११ बजेसम्म महामिलन मठबाट उनी सोझै होटल पुग्नेछन् जहाँ उनले बंगाल भाजपाका नेतृत्वहरूसित एक घण्टाको विशेष बैठक गर्नेछन्। त्यसपछि शाह अपरान्ह दुई बजे कोलकाता एयरपोर्टमा पुग्नेछन्। त्यहाँदेखि बीएसएफको हेलिकप्टर मार्फत अपरान्ह २:५५ बजे पूर्वी मेदिनीपुरको मेकेदार इस्कन मैदान हेलीप्याड ग्राउण्डमा पुग्नेछन्।
शाहले अपरान्ह ३ बजेदेखि मेचेदामा जनसभा गर्नेछन्। त्यहाँदेखि कोलकाता एयरपोर्ट हुँदै पुनः न्यू टाउन होटलमा पुग्नेछन्। त्यसपछि साइन्स सिटी अडिटोरियममा साँझ ६:१५ बजे पार्टी सम्मेलन सम्पन्न हुनेछ जहाँ उनले पार्टी नेताहरूसित विशेष बैठक गर्नेछन्। उक्त बैठकपछि उनी दिल्ली तर्फ प्रस्थान हुनेछन्।
उल्लेखनीय छ, आज नै पार्टीको तर्फबाट देशभरिका २३ वटा राज्यहरूको लागि केन्द्रिय प्रभारी अनि सहप्रभारीहरूको नियुक्ति गरिएको छ। बिहारका पूर्व स्वास्थ्यमन्त्री मंगल पाण्डेलाई पश्चिम बंगालको प्रभारी नियुक्त गरिएको छ। यसको साथै झारखण्डकी दिग्गज भाजपा नेता आशा लकड़ा औ पार्टीको आईटी सेल प्रमुख अमित मालवीयलाई सहप्रभारी नियुक्त गरिएको छ।
यसपूर्व अमित शाह बंगाल आएको समय उनले पार्टी नेताहरूलाई लोकसभा चुनाउमा राज्यका ४२ मध्ये न्यूनतम पनि ३५ सीटमा जित दर्ता गराउने लक्ष्य दिएका थिए।