रम्फू: रम्फू महकुमा कार्यालयमा आज ७५औं गणतन्त्र दिवस भव्यताको साथमा पालन गरियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जित खरेल उपस्थित थिए।
आजको कार्यक्रममा उपस्थित सबैलाई राज्यपाल अनि मुख्यमन्त्रीको सन्देश पठन गरेर सुनाइयो। यसको साथै महकुमा कार्यालय अनि रम्फु नगर पञ्चायतको तर्फबाट गत ४ अक्टोबरमा आएको भवितव्यबाट प्रभावितहरुलाई पुनःउद्धारको निम्ति श्रमदान अनि आफ्नो सहयोग दिने विशेष सरकारी कर्मचारीगण, व्यक्त विशेष अनि संघ संस्थाहरुलाई मुख्य अतिथि मन्त्री सञ्जित खरेलको बाहुलीबाट सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले गणतन्त्र दिवसको अवसरमा सबैलाई बधाई अनि शुभकामना दिए। भारतलाई स्वतन्त्र दिलाएर गणतन्त्र स्थापना गर्न आफ्नो प्राणको आहुति दिने सबैको सम्झना गर्दै उनीहरुप्रती मन्त्री खरेलले श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले अनि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम राज्यले धेरै उन्नति गरिरहेको उनले बताए।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको स्थापनाकालदेखि राज्यमा प्रजातन्त्रको पुनर्वहालीसँगै सिक्किममा धेरै विकासका कार्यहरु भइरहेको उनले बताए। वर्तमान सरकारले हरेक तह अनि तप्काका मानिसहरूलाई सशक्त बनाउने उद्देश्यसहित विभिन्न योजनाहरू अघि ल्याएर कार्य गरिरहेको उनले मन्त्रीले दावी गरे। गत २३ देखि २५ जनवरीसम्म राजधानीमा आयोजित तीन दिवसीय पञ्चायत सम्मेलनले राज्यमा मात्र नभएर देशमा नै एउटा इतिहास कायम गरेको उनले दाबी गरे।
मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा आफूले पनि जनताको सेवा गर्न पाएकोमा उनले खुशी व्यक्त गरे। सबै मिलेर सिक्किम निर्माणको निम्ति कार्य गर्दै सिक्किमलाई देशमानै उत्कृष्ट राज्य बनाउनुपर्ने दिशामा सबैलाई आबद्ध हुने उनले आग्रह पनि गरे।








