काठमाडौं: नेपाल भ्रमणमा रहेका विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली लुम्बिनी पुगेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी घुमघाम गर्दै उनले त्यहाँ पूजाआजा समेत गरे।
उनी आफ्नी छोरी र केही सहयोगीसहित लुम्बिनी पुगेका हुन्। उनलाई लुम्बिनी विकास कोषका पदाधिकारीले त्यहाँको ऐतिहासिक महत्वका थलो र वस्तुबारे जानकारी गराएका थिए। अभिनेता लीले चाख मानेर अवलोकन समेत गरे।कालो क्याप, रातो गलबन्दी र कालो लङकोटमा त्यहाँ पुगेका जेट लीले सर्वसाधारणसँग कुरा गरेनन्। गतसाता नेपाल आइपुगेका उनले बौद्धस्थित एक गुम्बामा बौद्ध दर्शनबारेको दुई दिने साधनामा सहभागिता जनाएका थिए। प्राप्त भिडियो र तस्वीरमा जेट लीले नेपाल बसाइलाई ‘इन्जोय’ गरेको देख्न सकिन्छ। बौद्ध धर्मावलम्बी उनी बेलाबेलामा नेपालमा आइरहन्छन्। सन् २०२३ मा क्रिसमस सेलिब्रेसन गर्न पनि उनी नेपाल आएका थिए। स्रोतका अनुसार उनकी छोरी काठमाडौंको बौद्धमा बौद्ध धर्म अध्ययन गर्छिन् र जेट ली बेलाबेलामा छोरीलाई भेट्न तथा आध्यात्मिक घुमघामका लागि नेपाल आइरहन्छन्। जेट लीले प्रशस्तै हलिउड र चिनियाँ फिल्ममा अभिनय गरेका छन्।










