पाकिम जिल्लाका विभिन्न कार्यालयमा राष्ट्रिय मतदाता दिवस पालन

IMG-20240125-WA0274.jpg

पाकिम: आज जिल्लाका विभिन्न सराकरी कार्यालय अनि निकायमा १४औं राष्ट्रिय मतदाता दिवस पालन गरियो। यस अवसरमा राष्ट्रिय मतदाता दिवसको शपथ ग्रहण कार्यक्रमहरू आयोजना गरिएको थियो। मुख्य चुनाउ आयोग, सिक्किमद्वारा स्थानीय रुरबन कम्प्लेक्समा आयोजित कार्यक्रममा अतिरिक्त जिल्लापाल श्रीमती अनुपा तामलिङ मुख्य अतिथि थिइन्। यस अवसरमा उनले कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रिय मतदाता दिवसको शपथ ग्रहण गराइन्।

यसै क्रममा रम्फूका महकूमा अधिकारी थेण्डुप लेप्चाले रम्फू नगर पञ्चायत हलमा वरपर क्षेत्रका सरकारी अधिकारी अनि कर्मचारीहरूलाई राष्ट्रिय मतदाता दिवसको शपथ ग्रहण गराए। यसरी नै रङ्गेली महकूमामा पनि शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो जसलाई महकूमा अधिकारी सोनाम छिरिङ लेप्चाले अध्यक्षता गरेका थिए। प्राप्त समाचारअनुसार आज पाकिम जिल्लाका विभिन्न लाइन विभागमा राष्ट्रिय मतदाता दिवसको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो।

उल्लेखनीय छ, राष्ट्रिय मतदाता दिवस एउटा वार्षिक कार्यक्रम हो जुन कार्यक्रम २५ जनवरीको दिन भारतको निर्वाचन आयोगको स्थापना दिवसको रुपमा पालन गरिने गर्छ। यस कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधरणलाई मतदानको महत्वबारे सचेत र जानकार गराउनु हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement