पञ्चायत सम्मेलन पञ्चायतहरूको मन राख्न मात्र नभएर मनबाट नै गरेको होः मुख्यमन्त्री तामाङ
गान्तोक: गत २३ जनवरीदेखि राजधानीमा सम्पन्न भइरहेको राज्यस्तरीय पञ्चायत सम्मेलन आज समापन भयो। समापन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथिकोरूपमा उपस्थित थिए।
तृणमुल स्तरमा जनसेवा पुऱ्याइरहेका पञ्चायत, जिल्ला पञ्चायत, नगर पार्षद अनि नगर पञ्चायतहरूलाई शसक्त बनाउने अनि उर्जा भर्ने उद्देश्यसहित आयोजित तीन दिवसीय पञ्चायत सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो सम्मेलन केवल पञ्चायतहरूको मन राख्नलाई मात्र होइन, तर मनबाट नै आयोजन गरेको बताए। पूर्व कालमा कहिल्यै पञ्चायतहरूको समस्यालाई सुनवाई नभएको त्यसको साटो तिनीहरूलाई अझ धम्काउने गाली गर्ने कार्य हुने गरेको उनले बताए।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार स्थापना गर्नसाथै राज्यमा आमुल परिवर्तन गर्दै पार्टीविहीन पञ्चायत चुनाउ आयोजना गर्ने कानून स्थापना गरेको उनले जनाए। यसो गर्नाले दक्ष अनि समाज र आफ्नो मानिसहरूको निम्ति केही गर्छु भनेर सोंच राख्नेहरू चुनिएर अघि आएकोमा पनि उनले खुशी व्यक्त गरे। पार्टीभन्दा माथि राज्य र राज्यवासीको विकास अनि उन्नतीलाई ध्यानमा राखेर नै सरकारले पञ्चायत चुनाउ पार्टीलेश गर्ने निर्णय लिएको बताए।
सरकारले जनताको निम्ति शुरु गरेका विभिन्न विकासीय योजनाहरूलाई जनतासम्म पुऱ्याउने पुल सरह पञ्चायतहरू रहेको हुँदा पञ्चायतहरूलाई शसक्त बनाउनु अतिनै आवश्यक रहेको उनले जानकारी गराए। यदि पञ्चायत अनि सरकारको सबै हिस्सा इमान्दार बनेर जनसेवामा लागे एकदिन अवश्यै सिक्किम रामराज्यमा परिणत हुने उनले विश्वास व्यक्त गरे।
यसको निम्ति पब्लिक डेलीभरी सिस्टमलाई दुरुस्त बनाउनुपर्ने आवश्यक रहेको कुरामा मुख्यमन्त्री तामाङले जोर दिए। यदि एक दिनमा हुने कामलाई धेरै दिन लगाइदिए जनताले पनि दुःख पाउने भएको हुँदा जनताको काम जतिसक्दो छिटो गरेर सेवा दिनुपर्ने आह्वान गरे। गाउँ गाउँमा रहेको गरीबहरू समक्ष सरकारको सबै सुविधा अनि साहुलियतहरू पुगोस् भन्ने हेतुले कुनै प्रकारको साहुलियतहरू वितरणको निम्ति सूची तयार गर्दा पहिलो नम्बरमा गरीबको नाम हुनुपर्ने पनि उनले सबैलाई सुझाव दिए।
आजको कार्यक्रममा मुख्यमन्त्री तामाङले विभिन्न घोषणाहरू गरे। पञ्चायतहरूको निम्ति आगामी वित्तीय वर्षमा धनराशि छुट्याएर राजधानीमा अतिथिगृहको निर्माण गर्ने साथै पञ्चायत वेलफेयर बोर्डको गठन गर्ने मुख्यमन्त्री तामाङले घोषणा गरे। यसको साथै सबै पञ्चायत जिल्ला पञ्चायतहरूले प्राप्त गर्ने अनेरियमको दुई गुणा बढ़ोत्तरी गर्ने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे।
यसरी नै जिल्ला अध्यक्षमार्फत १५ वटा सिक्किम गरीब आवास योजनाको घरनिर्माण गरिने, उपाध्यक्षको माध्यम १० वटा, जिल्ला पञ्चायतमार्फत ५ वटा अनि वार्ड पञ्चायत मार्फत ३-३ वटा घर निर्माण गरिने मुख्यमन्त्री तामाङले घोषणा गरे। अब उसो मुख्यमन्त्री कार्यालयबाट गरिने कार्यहरूको बीडीओ मार्फत हुने र यसको निम्ति पञ्चायतबाट एनओसी लिनुपर्ने पनि मुख्यमन्त्री तामाङले बताए। यसका साथै प्रत्येक वर्ष विभिन्न जिल्लामा तीन दिवसीय पञ्चायत सम्मेलनको आयोजना गरिने पनि मुख्यमन्त्री तामाङले जानकारी गराए।
आजको कार्यक्रममा ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा, शहरी विकास विभागीय मन्त्री एलबी दासले पनि सम्बोधन गरेका थिए। यस अवसरमा मुख्यमन्त्री तामाङको बाहुलीबाट सिक्किम आमा सश्क्तिकरण योजना, प्रधानमन्त्री आवास योजना, सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई पनि चेक प्रदान गरियो।










