मतदान अधिकार मात्र नभएर जिम्मेवारी पनि होः राज्यपाल
गान्तोक: सिक्किम निर्वाचन आयोग कार्यालयको तत्वावधानमा आज राजधानीस्थित चिन्तन भवनमा १४औं राष्ट्रिय मतदाता दिवस भव्यताका साथमा सम्पन्न गरियो।
कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम निर्वाचन आयोगलाई यस प्रकारको कार्यक्रम भव्यताको साथमा सम्पन्न गरेकोमा बधाई टक्राए। आजको कार्यक्रममा विशेष गरेर युवा र विद्यार्थीहरुको बढी मात्रामा उपस्थिति रहेको देखेर उनले खुशी प्रकट गर्दै सबैलाई सुतेर मात्र सपना देख्ने होइन, तर जागो बसेर पनि सपना देख्ने र त्यसलाई पूरा गर्न परिश्रम गर्ने र विकसित भारतको निर्माण गर्नुपर्ने आह्वान गरे।
राष्ट्रिय मतदाता दिवस सम्पूर्ण भारतवासीको लागि महत्वपूर्ण दिन रहेको बताउँदै सम्पूर्ण सिक्किमका मानिसहरुले पनि देशको लोकतान्त्रिक सिद्धान्तलाई स्मरण गर्दै आफ्नो मताधिकारको प्रयोग गर्नु पर्ने सुझाउ दिए। मतदान अधिकार मात्र नभएर जिम्मेवारी हो भन्ने सोच राखे राष्ट्रमा साथै राज्यमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए।
सुरक्षित, शान्त र समृद्ध देश बनाउनका लागि मतदाताहरुले कुनै पनि प्रलोभनमा नपरी र भय नराखी मतदान गर्नुपर्ने उनले सुझाउ दिए। सिक्किमले अहिलेसम्म शान्तरुपले चुनाउ आयोजन गर्नमा किर्तिमान हासिल गरेको कुरा अवगत गराउँदै आगामी चुनाउलाई पनि सोही ढंगले पूरा गर्न सकियोस् भन्ने कामना पनि गरे।
यसै क्रममा सिक्किम निर्वाचन आयोगका प्रमुख अधिकारी डी. आनन्दनले कार्यक्रमको औचित्यबारे जानकारी दिँदै यसपालिको कार्यक्रमको थिम “मतदान जस्तो केही छैन, म निश्चित रुपमा मतदान गर्नेर्छु” लाई आत्मसात गर्दै सिक्किमका समस्त मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरे। सिक्किमा आगामी दिनमा सम्पन्न हुन लागिरहेको चुनाउको लागि निर्वाचन आयोगले विभिन्न तहमा गरिरहेको कामहरुको जानकारी पनि उनले साझा गरे।
कार्यक्रमका प्रमुख अतिथिले उपस्थित सबैलाई मतदाता शपतग्रहण गर्न अगुवाई गरेपछि उनकै बाहुलीद्वारा भारत निर्वाचन आयोगले तयार गरेको गीतलाई क्षेत्रीय भाषामा साथै अनान्य दुईवटा भिडियो पनि बिमोचन गरियो। आजको कार्यक्रमको अवसर पारेर केही व्यक्तिहरुलई पुरस्कृत पनि गरियो।
रोल अब्जर्भरको पुरस्कार रोशनी राई अनि सुमन गुरुङलाई प्रदान गरियो। स्टेट आइकन पुरस्कार सोनाम ग्याछेन वाङदी, सोनाम डिकी भोटिया, पेडेन ओङमु भोटिया, द्रौपदी घिमिरे, सन्ध्या गुरुङ अनि विक्रम भट्टराईलाई प्रदान गरियो। यसरी नै राज्यका छवटै जिल्लाका एक-एकजना अधिकारीहरुलाई बेस्ट बुथ लेबल अफिसरको पुरस्कार पनि प्रदान गरियो।

यसरी जाङ्पो ग्याल्छेनलाई विशेष पुरस्कार प्रदान गरियो। पुरस्कृत सबैलाई राज्यपालको बाहुलीद्वारा खादा साथै अभिनन्दन पत्रले सम्मान गरियो। साथै यसपालि पहिलोपल्ट आफ्नो मताधिकारको प्रयोग गर्न गइरहेका १६ जना नयाँ मतदाताहरुलाई भोटर कार्ड पनि राज्यपालले प्रदान गरे।









