डीआरआईद्वारा पाँच करोड रुपियाँको सुन उद्धार

सिलगढी: इन्डो-बङ्ग्लादेश सीमाबाट सिलगढी भएर कोलकातामा ५ करोड रुपियाँको सुन तस्करी गर्ने योजनालाई सिलगढी डीआरआई युनिटको टीमले पर्दाफास गरिदिएको छ। यस घटनामा जम्मा पाँचजना तस्करलाई पक्राउ पनि गरिएको छ। यस घटनामा पक्राउ गरिएका तस्करहरुमा क्रमैसँग सञ्जु प्रमाणिक, मिजानुर प्रमाणिक, रफिकुल इस्लाम, इस्माइल हक र मतिउर रहमान सामेल छन्। तिनीहरू सबै कोचबिहार निवासी हुन्। डीआरआई सूत्रले दिएको जानकारी अनुसार किचबिहारबाट सुन कोलकाता तस्करी गर्ने योजना रहेको थियो। यसको लागि तस्करहरूले समूह बनाएको थियो। पहिलो समूहमा सञ्जु प्रमाणिक, मिजानुर प्रमाणिक र रफिकुल इस्लाम सामेल थिए। इस्माइल हक र मतिउर रहमान अलग-अलग बाटो भएर निस्केको सिलगढी डीआरआई युनिटको टीमले थाहा पाएपछि सबैभन्दा पहिला पुन्डिबारीमा अभियान चलाएर एउटा बसबाट सञ्जु प्रमाणिक, मिजानुर प्रमाणिक र रफिकुल इस्लामलाई पक्राउ गरेर छानबीन गर्दा ४३ पीस सुनको बिस्कुट उद्धार गरेको छ। डीआरआईको टीमले तिनीहरूसित सोधखोज गर्दा हाँसीमारा दलगाउँ रेलवे स्टेशनमा रोकेर राखेको कञ्चनकन्या ट्रेनबाट सो दलको चौथो सदस्य इस्माइल हकलाई पक्राउ गरेर छानबीन गर्दा १५ पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। यसपछि अलिपुरद्वार रेलवे स्टेशनबाट पदातिक एक्सप्रेस ट्रेनबाट पाँचौँ सदस्य मतिउर रहमानलाई पक्राउ गरेपछि छानबीन १४ पीस सुनको बिस्कुट उद्धार गरेको छ। डीआरआईले तस्करहरूबाट मोठ ७२ पीस सुनको बिस्कुट जफत गरेको छ। उद्धार गरेको सुनको मोठ ओजन ८ किलोभन्दा अधिक छ भने यसको अनुमानित बजार मूल्य लगभग ५ करोड रुपियाँ तोकेको छ। डीआरआईले आज ५ जना तस्करलाई सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले १४ दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement