खरसाङ, २५ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा बिहीवार भएको टुर्नामेण्टको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लबले नेपालको बेलबारी फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल डिफेण्डर दावा लामाले ५७औं मिनटमा दर्ता गरे। दावा लामालाई प्लेयर अव् द म्याच चयन गरियो। यस म्याचको साथै टुर्नामेण्टको सेमिफाइनल समीकरण पनि तयार भयो। अब २७ जनवरीमा खेलिने पहिलो सेमिफाइनलमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र ईष्ट बेंगल एकाडमी, राजगञ्जबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल २९ जनवरीमा कालेबुङको युनाइटेड ब्रदर्स र आजको विजेता ब्राइट स्पोर्टिंग क्लबबीच खेलिनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









