राजगञ्जः आगलागी हुँदा एउटै परिवारको 3 वटा घर जलेर खरानी भएको छ। उक्त घटना राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको भण्डारीगछ गाउँमा भएको हो। आगलागीको समय उक्त घरमा कोही थिएन।
स्थानीय सूत्रले दिएको जानकारीअनुसार मजिदा बेवारको घरमा आगो लागेको छिमेकीहरूले देखे। त्यस समय घरमा कोही नरहेकोले छिमेकीले आगलागीबारे घरका सदस्यहरूलाई खबर दिए। घटनाको खबर पाएर घरका सदस्यहरू घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरे। घटनाको खबर पाएर फुलबारी दमकल केन्द्रको एउटा इञ्जिन घटनास्थलमा पुगे तापनि आगलागीमा ३ वटा घर लगायत घरको सबै सर-समानहरू जलेर भष्म भइसकेको थियो। छिमेकी मकसेद आलमले बताएअनुसार आगलागीको सटीक कारण हालसम्म थाहा नलागे तापनि घरमा रहेको एउटा खाना पकाउने ग्यास सिलेण्डर विस्फोट हुँदा ३ वटा घर आगोको चपेटमा परेर भष्म हुनको साथै घरमा रहेको आवश्यकीय कागजपत्र लगायत सबै सर-समानहरू जलेर खरानी भएको छ। आमबारी आउटपोस्ट पुलिसले घटनाको जाँच शुरु गरेको बताइएको छ।