नयाँ दिल्ली, २५ जनवरीः भारतकी महान बक्सर तथा ६ पल्टकी विश्व च्याम्पियन एमसी मेरि कोमले बुधवार खेलबाट सन्न्यास लिनेबारे कुरा गरेर खलबली मचाएकी थिइन्। मीडिया रिपोर्ट्समा ओलम्पिक पदक विजेता यस बक्सरले सन्न्यास लिएको बताइएको थियो। यस खबरले प्रशंसकहरू स्तब्ध बनेका थिए तर मेरि कोमले अझ एउटा बयान दिएर सबैलाई चकित बनाएकी छन्। मेरि कोमले बताएअनुसार, खेलबाट सन्न्यास लिने विषयमा उनको बयानलाई गलत तरिकाले पेश गरियो। उनी अहिले खेलबाट सन्न्यास लिइरहेकी छैनन्। सन्न्यास लिने समय आएपछि उनी आफै मीडिया अघि आउने पनि मेरि कोमले बताइन्। वास्तवमा भारतकी सबैभन्दा लोकप्रिय महिला खेलाड़ीहरूमा एक मेरि कोमले आयु सीमाले कसरी उनलाई अधिकांश टुर्नामेण्टहरूमा हिस्सा लिनदेखि रोकिरहेको अनि उनको करियर लगभग समाप्त भइसकेको बताएकी थिइन्। यसपाली उनले एउटा साक्षात्कारमा उनले खेलबाट सन्न्यास नलिएको तर यसलाई लिएर योजना चाहिँ अवश्यै रहेको पुष्टि गरेकी छन्।
मेरि कोमले भनिन्, केही मीडिया रिपोर्टमा मैले खेलबाट सन्न्यास लिने घोषणा गरेको देख्न पाएँ। मेरो बयानलाई गलत तरिकाले पेश गरिएको हो। म सन्न्यास लिने संघारमा रहेकी छु तर अहिले सन्न्यास लिएकी चै छुइनँ। यसअघि मेरि कोमले एउटा कार्यक्रममा भनेकी थिइन्, मभित्र अहिले पनि जीतको भोक छ तर उमेर सीमा तय भएको हुनाले म अधिकांश टुर्नामेण्टमै हिस्सा लिन सक्दिनँ। म लगातार खेल्न चाहन्छु तर मलाई (आयु सीमाले गर्दा) खेल छोड़्न वाध्य गरिँदैछ। मैले सन्न्यास लिनु पर्नेछ। मैले आफ्नो जीवनमा सबैथोक हासिल गरेकी छु। आफ्नो त्यस बयानबारे ४१ वर्षीय मेरि कोमले भनिन्, म २४ जनवरीको दिन डिब्रुगढ़मा एउटा स्कूलको कार्य्रममा हिस्सा लिन गएकी थिएँ। त्यहाँ म नानीहरूलाई प्रेरित गरिरहेकी थिएँ। त्यहाँ मैले मभित्र अहिले पनि खेलहरूमा उपलब्धि हासिल गर्ने भोक रहेको तर ओलम्पिकमा आयु सीमाले गर्दा हिस्सा लिन नसक्ने बताएकी थिएँ। म खेल जारी राख्न सक्नेछु। म अहिले पनि आफ्नो फिटनेसमाथि विशेष ध्यान दिन्छु। यसबाहेक खेलबाट सन्न्यास लिने समय आएपछि म सबैलाई जानकारी दिनेछु। उल्लेखनीय छ, मेरि कोम विश्व कपमा ६ पल्ट स्वर्ण पदक जित्ने पहिलो महिला बक्सर हुन्। पाँचपल्टकी एशियाई च्याम्पियन मेरि कोम २०१४ एशियाई खेलहरूमा स्वर्ण पदक जित्ने भारतकी पहिलो महिला बक्सर रहिन्। उनले २०१२-को लण्डन ओलम्पिक खेलहरूमा काँस्य पदक जितेकी थिइन्।









