काठमाडौं: नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ। खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो ।बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको जानकारी दिए। अध्यक्ष शेर्पाले सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानबाट १८ समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिए। प्रत्येक सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नुपर्ने उनले बताए। वर्तमान युगसापेक्ष नीति तथा कार्यक्रम मार्फत विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले यही जनवरी २७, २८ र २९ काठमाडौंस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले बताए।तीनदिने प्रतियोगितामा सङ्घले सबै समूह सहभागी, आमन्त्रित अतिथि र स्वयंसेवकलाई खानासहित आवासको सुविधा उपलब्ध गराउने सङ्घका सदस्य नारायण पाण्डेले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने समूहले रु. ३ लाख ५० हजार, दोस्रो हुनेले रु. १ लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले रु. १ लाख प्राप्त गर्ने बताए।