काठमाडौं: जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स (वायुसेवा निगम) ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ ।सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो। निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो। १ सय ५८ सिट क्षमताका ‘ए३२०’ र २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको चर्को ब्याजदरको ऋण तिर्न र नयाँ जहाज खरिद प्रयोजनसहित कम ब्याजदरको ऋण लिन आशय पत्र निकालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।यसरी लिइने रकमले ऋण तिर्ने, १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा वाह्य सेक्टरमा उडान गर्न जहाज किन्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा प्रयोग गर्ने योजना रहेको पौडेलले बताए। यस्तो ऋण एकैपटक नलिई व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने र यस्तो ऋण प्राप्त भएपछि वार्षिक साढे ३ अर्ब रुपैयाँबराबर ब्याज रकम कम तिर्नुपर्ने देखिएको समेत पौडेलले जानकारी दिए।
नेपाल एअरलायन्सले के गर्न खोज्दै छ ऋण लिएर?
प्रवक्ता पौडेलका अनुसार यो रकम आगामी १० वर्ष भित्र लिइसक्ने योजना छ। त्यसमध्ये कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न ४८ अर्ब ऋण तत्काल लिने र अन्य रकम भने फण्ड सुरक्षित गरी राख्ने योजना छ। ‘जुन बेला निगमलाई जहाज किन्न पैसा चाहिन्छ, सम्झौता अनुसार सोही कम्पनीबाट ऋण लिने भन्ने योजनासहित अगाडी बढेका हौं,’ उनले भने ।निगमको १० वर्षे कार्ययोजना कार्यान्वयन गर्न आवश्यक रकमको जोहो गर्न सहुलीयतपूर्ण ऋण खोजिएको भन्दै उनले यसको प्राप्ति १० वर्ष भित्रै हुने र तत्काल यो सबै पैसा नलिइने उनले बताए।निगमको कार्ययोजनामा १० वर्ष भित्र १२ वटा जहाज थप्ने योजना छ। नेपाल भित्र मंहगो ब्याजदरको मात्र रकम हुने भएकाले विदेशी कम्पनीबाट यस्तो रकम आउने सक्ने अनुमानसहित अन्तर्राष्ट्रिय आषय पत्र निकालिएको उनले बताए।