२४ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो । बुधवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचमा यूकेएफसी-ले युनाइटेड एफसी दार्जीलिङलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि ५-५ मिनटको दुई हाफमा खेलाइएको अतिरिक्त समयको खेलमा पनि परिणाम हासिल नहुँदा पेनल्टी शूटआउट शुरु गरियो, जसमा ७-६-ले जीत हासिल गरी यूकेएफसी फाइनलमा पुग्यो। नियमित ९० मिनटको खेलमा यूकेएफसीबाट चिराग भुजेलले ३४औं र गिल्सन लिम्बुले ३५औं मिनटमा गोल गरे। यसरी युनाइटेड एफसी दार्जीलिङबाट दुवै गोल प्रणय राईले गरे। उनले २४औं र ५६औं मिनटमा गोल गरे। यूकेएफसी-का गोलकीपर रूपक कोयालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खएलिने दोस्रो सेमिफाइनल म्याचमा नेपालको रोलिंग क्लब र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











