जम्मू-कश्मीरको बडगाम जिल्लामा १२०० वर्ष पुरानो भगवान विष्णुको मूर्ति भेटिएको छ। भगवान विष्णुको यो तीन टाउको भएको मूर्तिको चार हात छ र दाहिने हातमा कमलको फूल छ। अधिकारीहरुले बुधबार यो जानकारी दिएका हुन्। यो मूर्ति नवौं शताब्दीको (करिब १२०० वर्ष पुरानो) भएको बताएका छन्। पुलिसका अनुसार बडगामको गुडासाथुका स्थानीयले मंगलबार दिउँसो जग्गा उत्खननका क्रममा केही मुर्तिहरू फेला परेको भन्दै पुलिसलाई खबर गरे। त्यसपछि घटनास्थल पुगेको पुलिस टोलीले मूर्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ।
‘बरामद गरिएको मूर्तिको जाँच गर्न आज अभिलेख, पुरातत्व र संग्रहालयको टोलीलाई बोलाइएको थियो। जसले जिल्ला पुलिस प्रधान कार्यालय बडगामलाई खबर गरे र मूर्ति जाँच गरेपछि बरामद मूर्ति भगवान विष्णुको हो,’ पुलिस प्रवक्ताले भने। ‘बरामद गरिएको मूर्ति तीन टाउको भएको छ र दाहिने हातमा कमलको फूल छ र चार हात छ। यो मूर्ति गान्धर र मथुरा कला शैलीको मिश्रण हो,’ उनले भने। बडगामको खग क्षेत्रबाट पनि यस्तै मूर्ति फेला परेको थियो र त्यो पनि पुरातत्व तथा संग्रहालयको टोलीले परीक्षण गरी उक्त मूर्ति पंचमुखीको हिस्सा भएको बताएको थियो। यी दुवै मूर्ति कश्मीरको पुरातत्व तथा संग्रहालय विभागलाई हस्तान्तरण गरिएको पुलिसले जनाएको छ।