२३ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा नेपालको रोलिंग फूटबल क्लबले एकतर्फी जीतको साथ सेमिफाइनलमा स्थान बनायो । मंगलवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको चौथो क्वार्टर फाइनल म्याचमा रोलिंग क्लबले सुकना युनाइटेड फूटबल क्लबलाई ७-१-ले पिट्यो। विजेता टीमबाट श्याम उरावँ र नीरज कार्कीले २-२ गोल गरे। यसबाहेक पुजन उपरकोटी, एञ्जल गुरुङ र रञ्जीत लिम्बुले १-१ गोल गरे। नेपालको टीमले पहिलो हाफमा २ अनि मध्यान्तरपछि ५ गोल गऱ्यो। यसरी सुकना युनाइटेडबाट अमन गुरुङले एकमात्र गोल गरे। यस म्याचको साथै टुर्नामेण्टको सेमिफाइनल समीकरण पनि तयारी भयो। बुधवार खेलिने पहिलो सेमिफाइनलमा युनाइटेड एफसी दार्जीलिङ र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल म्याच आजको विजेता रोलिंग क्लब र कालेबुङ पुलिसबीच खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









