२३ जनवरीमा मात्रै होइन तर सालभरि र जीवनभरि नेताजीको आदर्शलाई लिएर अघि बढ्नुपर्छ: महकुमा शासक

खरसाङ: खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा १२७औं नेताजी जयन्ती कार्यक्रम सम्पन्न भएको छ। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र नेताजी म्युजियम गिध्द पहाड़को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेताजी म्युजियमको चेयरम्यान एंव खरसाङ महकुमा शासक आईएएस अगध सिंघलको बाहुलीबाट राष्ट्रिय उत्तोलन गरियो। त्यसपछि गिध्द पहाड़स्थित नेताजी म्युजियम परिसरमा रहेको नेताजीक सालिगमा धुप प्रज्वलन, पुष्प अर्पण र खदार्पण गरी नेताजी सुवासचन्द्र बोसलाई श्रध्दाञ्जली अर्पण गरियो। त्यसपछि नेताजी म्युजियममा एक कार्यक्रम आयोजना गरियो जसको अध्यक्षता महकुमा शासक आईएएस अगध सिंघलले गरेका थिए। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको अधिकारी अनिर्बन दामको स्वागत सम्भाषणसितै शुरु गरिएको कार्यक्रममा महकुमा शासक आईएएस अगध सिंघलले आफ्नो सम्बोधन राख्दै नेताजी एकजना साँचो स्वतन्त्रता सेनानी र देशभक्त थिए भनी बताए। उनले नेताजीको अद्वितीय भूमिका र प्रेरणादायक भाषणले साँचो देशभक्त बन्न सहायता गर्छ भन्दै उनको उत्कृष्टतालाई सम्मान गर्दै उनको आदर्शमा चल्ने प्रतिबध्दता लिन चाहान्छौं भनी बताए। महकुमा शासक सिंघलले भने, नेताजीले शक्तिशाली कुरा उठाएका थिए -‘मलाई खुन देऊ – म आजादी दिन्छु’ भनेर अनि अहिलेको समयमा हामी सबै मेहनत गरेर सच्चाईसाथ काम गर्दै सच्चाई र निष्ठापूर्ण रूपमा देश र देशवासीको सेवामा लागौं जसले देशलाई विकसित बनाउन र अघि लान अग्रसर हुनुपर्छ।’ उनले अघि भने, यो श्रध्दाञ्जली कार्यक्रमबाट नेताजीको उत्कृष्टतालाई याद गर्ने अवसर पाउँछौं अनि उनको मेहनत र योगदानलाई सम्झना गर्ने दिन हो। तर २३ जनवरी मात्रमा होइन सालभरि र जीवनभरि नेताजीको अदर्शलाई अघि बढ़ाएर आफुलाई, समाजलाई र देशलाई नै अघि लान सक्नुपर्छ।’

कार्यक्रममा वरिष्ठ नागरिक बिनोद प्रकाश शर्माले नेताजी सुवासचन्द्र बोस विषयमा वक्तव्य राखेका थिए। उनले नेताजी सुवासचन्द्र बोसलाई गिध्द पहाड़मा नजरबन्द गरिएको र यहाँबाट निकालिएको विषयमा रोचक जानकारीहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङ पश्चिम बंगाल सरकारका लोक प्रसार प्रकल्पका कलाकारहरूले देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए। दिपक कर्मकारले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन नेताजी न्युजियमको इन्चार्च गणेश प्रधानले राखेका थिए। १२७औं नेताजी जयन्ती कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भूमि अनि भूमि सुधार विभाग खरसाङको डेपुटी डाईरेक्टर नामआल जेरकप रोंगोंग लेप्चा लगायत भूतपूर्व सैनिकहरू, वरिष्ठ नागरिकहरू, गोर्खा जनपुस्तकालय, स्काउट् एण्ड गाईण्डका प्रतिनिधि, सूचना अनि सांस्कृतिक विभागको प्रतिनिधिहरू, स्थानीयहरू पनि उपस्थित रहेका थिए। यसको साथै नेताजी जयन्तीको दिन नै म्युजियम घुम्न आउने पर्यटकहरू पनि कार्यक्रममा सामेल भएर नेताजीलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा सहभागी बन्न आएका पर्यटकहरूले पनि नेताजी म्युजियम घुम्न पाएको र जन्म जयन्तीको दिन नै यसरी यहाँ आउने मौका पाएकोमा पर्यटकरूले पनि खुशी व्यक्त गरेका थिए।