गान्तोक: आज अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रमलाई देशभरि नै उत्सवको रुपमा पालन गरियो। यसै क्रममा गान्तोक नजिक पाँच माइल, तादोङमा अवस्थित सरस्वती डोल्मा मन्दिरमा पनि प्राण प्रतिष्ठा उत्सव मनाइयो। यस अवसरमा पूर्वार्द्धको कार्यक्रममा क्षेत्र विधायक जीटी ढुङ्गेलद्वारा नवनिर्मित मन्दिरको प्रेक्षागृह एवं पाक गृहको उद्घाटन गरियो। यसको साथै मन्दिर परिसरको देखरेख र प्राविधिक समस्याहरूको समाधानमा भूमिका अख्तियार गर्नेदेखि लिएर मन्दिर सम्बन्धी अन्य क्षेत्रमा पनि आफ्नो अमूल्य योगदान दिने व्यक्तिहरूलाई अभिनन्दन पनि जनाइयो। यस अवसरमा स्थानीय पार्षद अनि सल्लाहकारहरूको पनि विशेष उपस्थिति रहेको थियो। अभिनन्दित व्यक्तिहरूमा लोकनाथ खरेल, तुलसी प्रसाद दाहाल, भरतलाल छेत्री, डा. टीबी घतानी, डा. ध्रुवकुमार शर्मा, लक्ष्मी छेत्री, राधा माधव समिति, गीता गजमेर, प्रद्युम्न श्रेष्ठ आदि प्रमुख थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विधायक जीटी ढुङ्गेलले कुनै पनि धर्मको पालन गर्नु भनेको आफै अनुशासनमा बस्नु हो भन्दै सरस्वती मन्दिरको अहिलेको सुन्दरीकरणमा वर्तमान सिक्किम सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। मन्दिर कमिटीको तर्फबाट प्रेक्षागृहको भुइँ साह्रै चिसो हुनेहुनाले क्षेत्र विधायकसमक्ष यसको कुनै उपाय हुनसक्थ्यो कि भन्ने प्रस्तावलाई सहश्र स्वीकार गर्दै जीटी ढुङ्गेलले चुनाउ आँगनमै आइपुगेकोले चुनाउ अवधिभरि लाग्ने कोड अफ् कन्डक्ट समाप्त भएको भोलिपल्टदेखि नै मन्दिर कमिटीले कार्य थाल्दा हुने उनले आश्वासन दिए। मन्दिरको प्रगतिको प्रसङ्ग उठाउँदै ढुङ्गेलले कार्य सम्पादन हुनसकेकोमा वर्तमान सिक्किम सरकारलाई स्थानीय जनताले धन्यवाद दिनुपर्ने सुझाउ पनि राखे। वर्तमान सिक्किम सरकारले विभिन्न समस्याहरूमाथि ध्यान राख्दै ती समस्याहरूको क्रमशः समाधान गरेको बताउँदै बाटोघाटोको मर्मति, पानीको समस्या समाधान लगायत गान्तोक वरिपरि जस्तै डाँड़ा गाउँ, पाँच माइल, छः माइलस्थित होलिक्रस स्कूल अघिल्तिर आदि स्थानहरूमा मानिसहरू साथै विद्यार्थीहरूलाई आवत-जावत गर्न सुविधा होस् भन्न खातिर फ्लाई ओभर ब्रीज आदिको कार्य चाँड़ै नै समाप्त हुने कुरा पनि क्षेत्र विधायकले बताए।
कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए।