जिल्लाका ९० प्रतिशत कार्य खण्ड प्रशासनिक कार्यालयबाट हुनु पर्छः विधायक एम प्रसाद शर्मा
गान्तोक: नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्माले आज पाकिम जिल्लाको निम्ति जिल्ला प्रशासनिक केन्द्रको उदघाटन गरे। यस उदघाटन कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक एम प्रसाद शर्माले हामी जहाँ जुन पदमा रहेता पनि जनताको सेवा गर्नुपर्ने बताए। जनताको काम सजिलो प्रकारले होस् भन्ने उद्देश्यले यहाँ खण्ड प्रशासनिक केन्द्रको उदघाटन गरिएको जानकारी गराए। आफू विधायक भएपछि पाकिमलाई जिल्ला बनाउने माग विधानसभामा राखेको अवगत गराए। यसरी आफूले विधानसभामा कुरा उठाएपछि मुख्यमन्त्री प्रेम सिंह तामाङले यसलाई स्वीकार गर्दै शीघ्र जिल्ला घोषणा गरेको अवगत गराए। धेरै पल्ट सर्वेक्षण गरेपछि पाकिमको सीमा कोरिएको र अन्ततः जिल्लाको मान्यता पाएको अवगत गराए।पाकिम जिल्लाले छोटो अवधि नै विभिन्न क्षेत्रमा पुरस्कार पनि प्राप्त गरेको विधायक शर्माले जानकारी गराए। यसरी पाकिमलाई जिल्ला बनाउनमा यहाँको सबै अधिकारीहरूले पनि उल्लेखनीय योगदान र भूमिका निर्वाह गरेको अवगत गराए। यस कार्यालयलाई सुचारूपमा सञ्चालन गर्नको निम्ति सबै अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने विधायक शर्माले आग्रह गरे। जनताको 90 प्रतिशत काम गर्नु खण्ड विकास अधिकारीहरूको हातमा रहेको बताए। मुख्यमन्त्रीले जस्तो बचन दिन्छन् उस्तै काम गरेको उदाहरण यस पाकिम जिल्लालाई लिन सकिने उनले बताए।
यसै क्रममा स्वागत सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल रबिन सेवाले पाकिम महकुमाबाट जिल्ला परिणत भएपछि यहाँ विभिन्न कुराको विकास भएको र स्थानीयहरूले अवसर प्राप्त गरेको जानकारी गराए। यस कार्यालयमा खण्ड विकास अधिकारीले इमान्दारपूर्वक खटेर जनहितमा काम गर्नुपर्ने उनले आग्रह गरे। यसर्थ यहाँका खण्ड विकास अधिकारीले २४ घण्टा नै जनताको फोन उठाएर उनीहरूको समस्या समाधान गरिदिनु पर्ने सुझाउ दिए। यहाँका जनताले यस कार्यालयमा आउँदा कुनै प्रकारको दुःख भोग्न नपरोवस् र यसको निम्ति खण्ड विकास अधिकारीले राम्रोसँगले काम गरिदिनुपर्ने अपील गरे। यस कार्यालय सदैव खुल्ला राख्नुपर्ने पनि उनले सुझाउ दिएका छन्।यस निर्वाचन क्षेत्रका विधायकले पाकिमलाई जिल्ला बनाउनमा धेरै मेहनत गरेको र निरन्तर मुख्यमन्त्रीसँग सम्पर्क गरेपछि अन्ततःपाकिम जिल्लामा परिणत हुन सकेको अवगत गराए। यस कार्यालयलाई मोडल बनाउन सबै अधिकारीहरूले सहयोग साथै योगदा पुऱ्याउनु पर्ने आग्रह गरे।