डाने भोटियाको आपराधिक काण्डमा मुख्यमन्त्री र एसकेएम पार्टीले स्पष्टीकरण दिनुपर्छः एसडीएफ

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: गत १७ जनवरीका दिन सिलगढ़ी वन विभागको सहायताद्वारा बङ्गाल पुलिसले सिक्किमका पूर्व पुलिस अधिकारी डाने भोटियालाई प्रतिबन्धित वस्तुको अवैध तस्करी गरेकोमा पक्राउ गरेको थियो।

सत्तारूढ़ एसकेएम पार्टीका सदस्य तथा मुख्यमन्त्रीका हितैषी भोटिया यसरी पूर्ण प्रतिबन्धित कस्तुरीको बिना र राजपङ्खीको छालासँग राज्यबाहिर पक्राउ पर्नु भनेको सिक्किमको इज्जत धूलीसात पार्नु हो। यस कुकृत्यका कारण सम्पूर्ण सिक्किम र राज्य पुलिस प्रशासन नै बदनाम भएको छ भन्दै एसडीएफ पार्टीले यसको घोर भर्त्सना जनाएको छ।

एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा डाने भोटिया मुख्यमन्त्री पीएस तामाङको नजिकको व्यक्ति रहेको बताउॅंदै मुख्यमन्त्रीको आशिर्वादबिना यत्रो ठूलो गैरकानुनी काम गर्न केवल डाने भोटियाले आँट गर्नसक्दैनन् भनी बताएको छ। नेपालको बाटो भित्र्याइएको करोड़ौं मूल्यको उक्त प्रतिबन्धित वस्तु अवैध रूपमा देशबाहिर पठाउन लागेका डाने भोटियाको तस्करीकाण्डले सिक्किम एसकेएम सरकारको छत्रछायाँमा अन्तरराष्ट्रिय माफियाहरूको टुँड़िखेल बन्नपुगेको स्पष्ट बुझिन्छ भनी गम्भीर आरोप पनि लगाएको छ।

एसडीएफले राज्यमा भइरहेका आपराधिक घटनाहरू लगायत डाने भोटियाकाण्डमा यतिका दिनसम्म पनि एसकेएम सरकार र मुख्यमन्त्री केही बोलेका छैनन् भनेको छ। हरेक कुरामा एसडीएफ पार्टीले सिक्किमलाई बाह्य शक्ति धुराएर बर्बाद गऱ्यो भन्ने मुख्यमन्त्री र उहाँका राजनीतिक सचिव जेकब खालिङ आज यत्रो अन्तरराष्ट्रिय स्तरमा सिक्किम लज्जित हुनपर्दा किन चुप छन् भनी एसडीएफले प्रश्न गरेको छ। एसडीएफले सरकारले यसको स्पष्टीकरण चाँड़ोभन्दा चाँड़ो जनतालाई दिनुपर्छ भनी माग पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement