समाजसेवी कमल गजमेरको निधनमा खरसाङ विश्वकर्मा समाजद्वारा शोक सभा

IMG-20240122-WA0266.jpg

खरसाङ: खरसाङ विश्वकर्मा समाजका एक बलियो स्तम्भ वरिष्ठ समाजसेवी, सामाजिक चिन्तक तथा वर्तमान सल्लाहकार कमल गजमेरको अप्रत्याशित निधनले उनको परिवारलाई जस्तै खरसाङ विश्वकर्मा समाजलाई पनि स्तब्ध बनाएको छ। आफ्नो वयोवृद्ध आमा-बाबा, अर्धाङ्गीनी मीरा गजमेर,एक छोरा दुई छोरी, बुहारी जुवाई र नाता नातिनीहरूलाई आफ्नो अनन्त पात्राको सुइँको पनि नदिई जाने कमल गजमेरको निधन भएको थियो। उनी १० दिसम्बर १९५७-मा खरसाङको प्रतिष्ठित गजमेर परिवारभित्र पिता देशराज गजमेर अनि माता निर्मला गजमेरको कोखबाट माइलो सुपुत्रको रूपमा जन्म ग्रहण गर्ने कमलको वास्तविक नाम केशवराज गजमेर थियो। कालेबुङमा साउँ अक्षर चिनेपछि खरसाङको प्रतिष्ठित शैक्षिक संस्थान गोथल्स मेमोरियल स्कूलबाट उनले माध्यमिक तहको शिक्षा पूरा गरेका थिए। आफ्नो सिद्धान्त र बिचारमा स्पष्ट कमल केही समय सक्रिय राजनीतिमा देखा पनि परे। नयाँ शताब्दीको शुरूमा उनी खरसाङ नगरपालिकामा नगरपार्षदको रूपमा चुनिएर आए। वर्तमान राजनीतिको स्वरूपलाई नगीचबाट अनुभव गरेपछि आफूलाई राजनीतिबाट टाड़ो राख्ने कोशिश गरे। त्यसपछि सन् १९२५-मा स्थापित खरसाङ विश्वकर्मा समाजलाई सही दिशा निर्देश र स्थायित्व प्रदान गर्न तेस्रो चरणका कर्मठ सामाजिक अभियन्ताहरू स्वर्गीय सन्तोषसिंह लकान्द्री, दिलिपकुमार बराइली, किरणप्रसाद दर्नाल र हेमन्तकुमार दर्नालहरूसँग जोडिए। समाजलाई यो रूपसम्म ल्याइपुऱ्याउन स्वः कमल गजमेर प्रत्यक्ष तथा परोक्ष योगदानलाई उल्लेख नगरे निश्चय नै घोर अन्याय हुनेछ। यस्ता अभिभावक र शुभचिन्तकलाई असमय गुमाउन पर्दा खरसाङ विश्वकर्मा समाजलाई अपुरणीय क्षति भएको कुरो अनुभव गर्दै सोमबार निर्मलकुमार गहतराजको अध्यक्षतामा एक विशेष शोकसभा आयोजन गरी उनको योगदान र व्यक्तित्वलाई सम्झना गर्दै श्रद्धाञ्जलीस्वरूप एक मिनट मौनधारण गरियो। सचिव केशवसिंह घतानीले सञ्चालन गरेको यस सभामा स्वः गजमेरका निधनले सिर्जना गरेको खाल्डो पूर्ण गर्न धेरै समय लाग्ने कुरो व्यक्त गर्दै समाजका विशिष्ट व्यक्तिहरूले उनीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे। शोक सभामा केपी दर्नाल, शास्त्रीय सङ्गीतगुरू गोविन्दसिँह घतानी, हेमन्तकुमार दर्नाल, विनोद रसाइली, कमलसिंह श्रीवाल, श्यामकुमार लोहार, सुष्मा सिंह, सविता गजमेर, सञ्जय सिंह लकान्द्री, रोशनी रसाइली र इन्द्कुमार सिंगौरेले उनको यस निधनले परेको असह्य मर्कालाई सहन गर्ने शक्ति ईश्वरले परिवारलाई प्रदान गरून् भनी प्रार्थना गर्दै आफ्ना केही श्रद्धाञ्जली शब्दसहित गहिरो समवेदना प्रकट गरे। यस बाहेक समाज यसबेला शताब्दी यात्रामा रहेको कुरो स्मरण गर्दै आफ्नो प्रमुख सल्लाहकारलाई शुरूमा नै गुमाउनुपर्दा उनकौ अनुपस्थितिले निश्चय नै प्रभाव पार्ने सभाले अनुभव गऱ्यो। सभाध्यक्ष निर्मलकुमार गहतराजले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे भनी खरसाङ विश्वकर्मा समाजको प्रचार प्रसार सचिव विनोद रसाइलीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement