२८ जुलाईः भारतले वेष्ट इण्डिजलाई सीरीजको तेस्रो तथा अन्तिम वनडे क्रिकेट म्याचमा ११९ रनले पराजित गऱ्यो। वर्षाले प्रभावित यस म्याचको नतीजा डकवर्थ लुईस नियमद्वारा निकालियो। यस जीतको साथै भारतले तीनवटा म्याचको सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। भारतीय टीमले ३९ सालदेखि वेष्ट इण्डिजमा वनडे सीरीज खेलिरहेको छ अनि भारतलाई पहिलोपल्ट क्यारेबियन टीमलाई उनीहरूकै घरमा क्लीन स्वीप गर्ने सफलता हासिल भयो। भारतीय कप्तान शिखर धवनले टस जितेर पहिला ब्याटिंग गर्ने फसेला गरे। भारतको ईनिंग्सलाई दुईपल्ट वर्षाले वाधा पुऱ्यायो। यसरी भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनायो। त्यसपछि वेष्ट इण्डिजलाई डकवर्थ लुईस नियम अनुसार ३५ ओभरमा २५७ रन बनाउने लक्ष्य प्राप्त भयो। जवाफमा वेष्ट इण्डिजको टीम २६ ओभरमा १३७ रन बनाएर अलआउट भयो।

भारतलाई ओपनरद्वय शिखर धवन र शुभमन गिलले सामान्य धीमा तर ठोस शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति २२.५ ओभरमा ११३ रनको साझेदारी गरे। कप्तान धवन ७४ बलमा ७ वटा चौकाको सहायताले ५८ रन बनाएर आउट भए। धवन आउट भएको लगत्तै पछि वर्षा शुरु भयो। खेल पुनः शुरु हुँदा म्याचलाई ४०-४० ओभरको गरियो। त्यहाँदेखि गिलले श्रेयस अय्यर (४४ रन)-सँग मिलेर द्रुत रन बटुले। यी दुईबीच दोस्रो विकेटको निम्ति ८६ रनको साझेदारी भयो। अय्यरले ३४ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। अन्तिम ओभरहरूमा ओर्लिने सूर्यकुमार यादव (८ रन) द्रुत रन बनाउने प्रयासमा आउट भए। गिल ९८ रनमा अविजित हुँदा फेरि वर्षा शुरु भयो। त्यस समय भारतको स्कोर ३६ ओभरमा ३ विकेटमा २२५ रन थियो। भारतको ईनिंग्स त्यही समाप्त भएको घोषणा गरिँदा गिल आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतकदेखि वञ्चित भए। गिलले ९८ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाए। सञ्जु सेमसन ६ रनमा अविजित रहे। वेष्ट इण्डिजका बलरहरूमा स्पिनर हेडल वल्शले २ विकेट हासिल गरे।
चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजको शुरुवात खराब रह्यो। मोहम्मद सिराजले ईनिंग्सको दोस्रो ओभरमा काइल मेयर्स र शामराह ब्रूक्सलाई आउट गरे। यी दुवैले खाता खोल्न सकेनन्। त्यसपछि वेष्ट इण्डिजबाट कसैले पनि लामो ईनिंग्स खेल्न सकेनन्। यसरी पूरा टीम २६ ओभरमा १३७ रन बनाएर आउट भयो। कप्तान निकोलस पूरन र ब्रेण्डन किंगले ४२-४२ रन बनाए। भारतीय बलरहरूमा लेग स्पिनर युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट हासिल गरे। यसबाहेक सिराज र शार्दुल ठाकुरले २-२ विकेट बाँड़े। गिललाई प्लेयर अव् द म्याच अनि प्लेयर अव् द सीरीज चयन गरियो।