२५ वर्षको लामो सरकारसँग वर्तमान सरकारलाई तुलना गर्न हुँदैन्ः अरूण उप्रेती
गान्तोक: गत ८ जनवरीदेखि शुरू भएको एसकेएम पार्टीको समष्टीस्तरीय सागंठनिक एवम् जनसभा आज स्यारी निर्वाचन क्षेत्र अन्तर्गत रानीपुल नजिक बहाई स्कूलको खेल मैदानमा सम्पन्न भयो।
यस कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरूण कुमार उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिहरूमा क्षेत्र विधायक एवम् शिक्षा विभाग मन्त्री केएन लेप्चा, संगठन प्रभारी एवम उपाध्यक्ष पवित्र मानव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथि अरूण कुमार उप्रेतीले एसकेएम पार्टी समुन्द्र जस्तै हो, यसर्थ यस पार्टीमा सामेल हुनेहरू को नयाँ को पुरानो हो त्यो चिन्न नसक्ने बताए। वर्ष २०१९ मा एसकेएम पार्टीले जस जसले सहयोग पुऱ्याए उनीहरू अझ पनि पार्टीमा रहेको उनले दाबी गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको काम देखेर हाल राज्यका विभिन्न राजनीतिक दलका सदस्य साथै समर्थकहरू पार्टीमा सामेल भइरहेको उनले अवगत गराए।
आगामी चुनाउमा एसकेएम पार्टीले सरकार गठन गरेपछि समावेशी कार्यक्रम बन्द गर्नुपर्ने सुझाउ दिए। उनले २५ वर्ष लामो सरकारसँग पाँच वर्षको सरकारलाई तुलना नगर्न आग्रह गरे। २५ वर्षको लामो सरकारले स्यारीदेखि रानीपुलसम्म आउने सडक निर्माण गर्न नसकेको, तर एसकेएम सरकारले छोटो अवधिमा नै यो सडक निर्माण गरेर स्यारी निर्वाचन क्षेत्रका जनतालाई ठूलो सहयोग पुऱ्याएको अवगत गराए।
यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केएन लेप्चाले राज्यमा भइरहेको अन्याय र अत्याचार देखेर त्यसवेला आफू एसकेएम पार्टामा सामेल भएको जानकारी गराए। आफू बाँचुञ्जेलसम्म मुख्यमन्त्री प्रेमसिंह तामाङको साथ नछोडने पनि उनले बचन दिए। एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा व्यापकरूपमा विभिन्न क्षेत्रमा विकास भएको उनले अवगत गराए।
आफ्नो स्वार्थपूर्ति नहुँदा केही साथीहरूले पार्टी छोडेर गएको जानकारी गराउँदै पार्टी र जनताको निम्ति निःस्वार्थ भावनाले काम गर्नुपर्ने मन्त्रीले आग्रह गरे। आफू मन्त्री भएपछि यस निर्वाचन क्षेत्रका सबै गरीबहरूलाई पार्टी र धर्म नछुट्टाई सहुलियत र विकास प्रदान गरेको उनले दाबी गरे। अब यस निर्वाचन क्षेत्रका जनता सबै मिलेर एसकेएम पार्टीलाई ३२-३२ मा सीट जिताउने उनले आग्रह गरे।
सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै पवित्र मानवले एसकेएम पार्टीले समावेशी राजनीति गरेको कारण समाजमा आर्थिकरूपमा कमजोरवर्गलाई माथि उठाएको जानकारी गराए। पूर्व सरकारले समाजलाई विभिन्न क्षेत्रमा विभाजित गरेको थियो, तर वर्तमान सरकारले टुक्रा टुक्रा भएको समाजलाई एकको सुत्रमा बाँध्ने काम गरेको उनको भनाइ रहेको थियो। वर्तमान सरकारले राज्यका सबै जात- समाज र धर्मलाई सम्मान गर्दै न्याय दिएको किटान गरे। आजको यस कार्यक्रममा खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, सिक्किम चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्मा, पूर्व सांसद नकूल दास राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।