२० मईः युवाहरूलाई विभिन्न कुलतहरूदेखि टाढ़ा राखेर फूटबल खेलको माध्यमले स्वस्थ्य जीवनशैली प्रदान गर्ने अनि सीमित सुविधाहरू रहे पनि जमीनी स्तरबाट कार्य गरेर प्रतिभाशाली खेलाड़ीहरू तयार गर्ने कार्यमा लागिपरेको छ कालचिनी स्थित डुवर्स फूटबल एकाडमी। समाजसेवी कुमार लामाको अथक प्रयासमा शुरु गरिएको डुवर्स फूटबल एकाडमीमा अहिले स्थानीय बालक-बालिकाहरूले खेलको प्रशिक्षण लिइरहेका छन्।

अलिपुरद्वार जिल्लाअन्तर्गत पर्ने कालचिनीमा २०१४-देखि नै खेलाड़ीहरूलाई प्रशिक्षण दिँदै आइरहेका लामाले बताएअनुसार, सुविधाहरूको कमी रहँदा-रहँदै पनि उनले आफ्नो कामलाई जारी राख्ने अठोट गरेका छन् अनि यस एकाडमीबाट एकाधिक प्रतिभाशाली खेलाड़ीहरूले राज्य भित्र मात्र नभएर बाहिर पनि आफ्नो खेल प्रदर्शन गरिरहेका छन्। यसै क्रममा बिहीवार सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानले पनि एकाडमीका नानीहरूसँग भेट गरी उनीहरूलाई महत्त्वपूर्ण टिप्सहरूको साथमा दुईवटा फूटबल प्रदान गरे। उनले नानीहरूलाई एकदिन शीर्ष स्तरको फूटबलर बन्नेछु भन्ने दृढ़संकल्पको साथ कठोर मेहनत गर्ने सल्लाह दिए।