दुई दिवसीय गोर्खा माघे मिलन उत्सव भव्यताको साथ समापन

376738c7-91d8-4d57-a77d-f07d2c2d363d

कालचिनीः गोर्खा जातीय एकता र पहिचानलाई कायम राख्न अनि गोर्खा जातगोष्ठीको सांस्कृतिक धरोहर र विविधतालाई संरक्षण गर्ने र गराउने उद्देश्य लिएर गत १९ र २० जनवरीको दिन सम्पन्न भएको दुई दिवसीय गोर्खा माघे मिलन उत्सव शनिबार भव्यताको साथ सफल भएको आयोजक कमिटीको पक्षबाट अध्यक्ष शरण लामा र सचिव चन्दन भट्टराईले जनाएका छन्।
शुक्रबार शुरु भएको गोर्खा माघे मिलन उत्सवमा शोभायात्रासहित तामाङ, लिम्बु, राई, भुजेल, मगर, खस, कामी दमाई सार्की लगायत अन्यान्य जातिका नृत्यहरूको प्रदर्शन भएको थियो भने शनिबार उक्त उत्सवमा गोर्खा जातीय खाद्य एवम् भेषभूषाको‌ प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। अपरान्ह समय साहित्यिक स्र्ष्टाहरूलाई समेटेर कवि गोष्ठीको पनि आयोजना गरिएको थियो।उक्त कवि गोष्ठीमा डुवर्सभरीका कविहरू अजय खडका, रबिन खवास, कमल थुलुङ, दिलीप शर्मा घिमिरे, ज्ञानलाल दर्नाल, बिनु राई आदिले गहकिलो कविता वाचन गरेका थिए।
यसै क्रममा सम्वर्द्धना प्रदान गर्ने क्रममा कालचिनी खण्डको १० जना नेपाली भाषा संग्रामीहरूलाई गोर्खा सम्मान प्रदान गरिएको थियो भने जयगाउँका युवा समाजसेवी नवीन छेत्रीलाई पनि विशेष सम्मानको साथ गोर्खा सम्मान प्रदान गरिएको थियो।
सम्वर्द्धनाको क्रममा कालचिनी खण्डको ५ जना शहीद परिवारलाई अनि ६ वटा सालिक निर्माण समितिलाई पनि गोर्खा सम्मानले विभूषित गरिएको थियो। यसै क्रममा डुवर्सको लिजेन्ड्री गायक इन्द्रजीत मिजार र भ्वाइस किड्सका सेमी फाइनासिस्ट बाल गायिका प्रार्थना गुरुङलाई पनि कार्यक्रम प्रस्तुति पश्चात सम्मान जनाइएको थियो। समापन समारोहमा जेडीए चेयरम्यान गंगाप्रसाद शर्मा लगायत समाजसेवी असिम पाख्रिन एवम् अन्यान्य विशिष्ट समाजसेवीहरूको उपस्थिति रहेको थियो।
समग्रतामा दुई दिवसीय गोर्खा माघे मिलन उत्सव भव्यताको साथ सफल भएको र सोँचे भन्दा धेरै राम्रो भएको र सबै गोर्खा सन्तानले जातीय अनि दलीय रंगभेद नहेरी कार्यक्रम सफल पार्न आफ्नो सहयोगिता प्रदान गरेकोमा आयोजक कमिटीको प्रमुख संयोजक पवन योल्मोले आभार व्यक्त गरेका छन्। आउँदो बर्षहरूमा पनि यस्तै साथ पाए अझै वृहतरुपमा मिलन उत्सवको आयोजना गरिने आयोजक कमिटीको सभापति शरण लामा सचिव चन्दन भट्टराई र मुख्य संयोजक पवन योल्मोले संयुक्त रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement