कालचिनीः बक्सा टूरिजम एन्ड कल्चरल कार्निभलको शुरुवात गत १२ जनवरीदेखि भएको थियो भने यस क्रममा डुवर्सका विविध जनजातिहरूको सांस्कृतिक कार्यक्रमसितै २८ बस्तीमा डम्फु सेलो उत्सव र अरण्य कवि गोष्ठी, राभा बस्तीमा कालबाँसी उत्सव, मादल अनि नगाडा उत्सव सम्पन्न भएको र यसै क्रममा आइतबार दशौँ प्रकरणमा आईपुग्दा राजाभातखावाको बक्सा चेक पोस्टमा बक्सा घुम्न आउने पर्यटकहरूलाई टीका र खदा माला पहिराएर भव्य स्वागत जनाएको रामकुमार लामाले जानकारी दिएका छन्।
आइतबार यसैगरि जयन्ती र सुन्तलाबारीमा पनि बक्सा टूरिज्म एन्ड कल्चरल कार्निभलको टोलीले पर्यटकहरूलाई स्वागत जनाउँदै सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो। आगामी २३ जनवरीको दिन यो कार्निभलको समापन हुने पनि पहलकर्ता समाजसेवी रामकुमार लामाले थप जनाएका छन्।