पार्टीलाई सरकारमा पुऱ्याउन राज्यका चालकहरूको महत्वपूर्ण भूमिका छ- मुख्यमन्त्री

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीलाई सरकारमा पुऱ्याउन राज्यका चालकहरूको भूमिका महत्वपूर्ण रहेको मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन्। महाभारतमा जसरी भगवान कृष्णले अर्जुनको सारथी बनेर उनको रथ हाँक्ने र युद्धमा विजय प्राप्त गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसरी नै राज्यका चालकहरूले पनि एसकेएम पार्टीलाई सत्तामा पुऱ्याउन निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताए। मुख्यमन्त्री तामाङ आज राजधानी छेउ रेशीथाङमा राज्य परिवहन विभागद्वारा आयोजित प्रथम सारथी सम्मान दिवस २०२२ कार्यक्रममा बोल्दै थिए। सिक्किम सरकारको आयोजना राज्यमा पहिलोपल्ट सारथी सम्मान दिवस पालन गरिएको छ। २०१९ मा राज्यमा एसकेएम सरकारको गठनपछि २७ जुलाईलाई पार्टी स्तरबाट चालक दिवसको रूपमा पालन शुरू भएको थियो भने यस वर्षदेखि परिवहन विभागले सो दिनलाई सरकारी कार्यक्रमको रूपमा सारथी सम्मान दिवस भनेर पालन गर्न थालेको हो।
राज्यको छवटै जिल्लाबाट चालकहरूको उत्साहजनक सहभागितामा पूर्व सिक्किमको राङ्कास्थित रेसिथाङ खेल गाउँमा आयोजित समारोहमा मुख्यमन्त्री तामाङ मुख्य अतिथि थिए। मुख्यमन्त्रीले एसकेएम पार्टीलाई सरकारमा ल्याउन राज्यका चालकहरूको भूमिका महाभारतमा भगवान कृष्णको समान रहेको बताउॅंदै चालकहरूलाई अब उपरान्त सम्मानपूर्वक ‘सारथी’ नामले बोलाइने घोषणा नै गरे। यसरी नै उनले चालकहरूको सम्मानमा २७ जुलाईलाई ‘रिस्ट्रिक्टेड होलिडे’ घोषणा गरे। यसै क्रममा उनले पूर्वको एसडीएफ सरकारमाथि कटाक्ष गर्दै तत्कालीन सरकारले २५ वर्षको कार्यकालमा चालकहरूलाई यसरी सम्मान जनाउने काम नगरेको आरोप पनि लगाए।
परिवहन विभाग मन्त्री संजित खरेलले चालकहरूको पक्षमा राखेका कतिपय मागहरूमाथि बोल्दै मुख्यमन्त्रीले प्रत्येक वर्ष प्रत्येक जिल्लाबाट १०-१० जना चालक परिवारका सदस्यलाई सरकारी नोकरी (एड्हक) दिने घोषणा गरे। यसैगरी, उनले सिक्किम सारथी वेलफेयर बोर्ड चॉंडै गठन गरिने जानकारी दिॅंदै मुख्यमन्त्रीले बोर्डमा एकजना अध्यक्ष चालक वर्गबाटै चयन गरिने बताए। अध्यक्षलगायत बोर्डमा छजना उपाध्यक्ष, एकजना महासचिव, एकजना कोषाध्यक्ष र कुल १९ कार्यकारी सदस्य रहने बताए। उनले बोर्डका अध्यक्ष र अन्य सदस्यहरूको घोषणा आगामी १५ अगस्त अघि गरिने पनि जानकारी दिए।
कार्यक्रम अवधि दुर्घटनामा परेर ज्यान गुमाएका दुई जना चालकका परिवार पक्षलाई अनुग्रह राशि प्रदान गरियो। यसरी नै चालकहरुको निम्ति राखिएका विभिन्न पुरस्कार प्रदान गर्नसितै परिवहन विभागका चालकहरूको निम्ति शुरु गरिएको बीमा डीड पनि वितरण गरियो। सारथी सम्मान दिवसको कार्यक्रम शुरु हुनुअघि मुख्यमन्त्री पीएस गोलेले राज्य परिवहन विभाग अधिनस्थ एसएनटीका १३ वटा नयाँ ट्याङ्कर र एउटा प्रोटोटाइप सिटी रनर बसको शुभारम्भ गरेका थिए।

सारथी सम्मान दिवसको अवसरमा सिक्किम सरकारले राज्यको छ वटै जिल्लाबाट एक एक जना खटिखाने चालकको चयन गरि उनीहरूको जीविकोपार्जन सुविधाको निम्ति बोलेरो ट्याक्सी वाहन प्रदान गरियो। लाभार्थी चालकहरुको चयन लक्की ड्र मार्फत गरिएको थियो। चयनित चालकहरूको नाम कर्ण बहादुर छेत्री (मंगन), जोएल लेप्चा (सोरेङ), कृष्णबहादुर राई (गेजिङ), धुर्व दर्जी (नाम्ची), अरूण सुब्बा (गान्तोक) र अल्बिनाश लेप्चा (पाकिम) रहेका छन्। मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा आगामी 4 नोभेम्बरमा राज्यमा पञ्चायत चुनाउ गरिने पनि जानकारी दिएका छन्। उनले २२ अगस्तपछि प्रत्येक निर्वाचन क्षेत्रमा भ्रमण गरेर जनताका समस्या र गुनासो सुनवाई गर्ने र यो क्रम दशैंसम्म चल्ने बताए। कार्यक्रममा राज्यको परिवहन विभाग, अखिल सिक्किम सरकारी वाहन चालक संघ तथा अन्य चालक संगठनका प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई अभिनन्दन जनाए। कार्यक्रमलाई मन्त्री खरेलले पनि सम्बोधन गरेका थिए। यस अवसरका विभिन्न चालक संघका सदस्यहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *