होर्डिङ्स-लाइटले सजियो सहर
सिलगढी। प्रतिक्षाको घडी समाप्त हुन लागेको छ, भोलि अयोध्यामा रामललाको प्राण प्रतिष्ठा हुन लागेको छ। यस अवसरमा देशभरी उत्सवको झलक देख्न पाइएको छ, देशका सहर र सडक राममय देख्न थालेका छन्। रामलला प्राण प्रतिष्ठाको अभिषेकलाई लिएर सिलगढी सहरमा पनि ठूलो उत्सवको माहोल छ। आस्थाको बाढीमा डुब्दै मानिसहरु रामलला प्राणप्रतिष्ठा पर्वमा सहभागी भइरहेका छन्।
सिलगढी नगरका राम मन्दिरलगायत अन्य मन्दिरलाई सजाइएको छ भने सिलगढीको गान्धी चोकमा विश्व हिन्दू परिषदले राम मन्दिरको प्रतिकृति निर्माण गरेको छ।
राम मन्दिर उद्घाटनको अवसरमा सिलगढीका तीन सयभन्दा बढी मन्दिरमा विशेष पूजा गरिने बताइएको छ। हनुमान चालिसा वाचन साथै दिनमा विशेष भोग अर्पण र प्रसाद वितरण गरिने छ। साँझ लाखौं दीप प्रज्वलन हुनेछ। सिलगढी मात्र नभई छिमेकी राज्य सिक्किममा पनि तयारी भइरहेको बताइएको छ।

यता नौकाघाट चोकमा रामको जीवन कथा प्रस्तुत गरिने संस्थाका तर्फबाट लक्ष्मण बंसलले जनाएका छन्। अयोध्या पुग्न नसक्नेहरूका लागि सिलगढीमा नै राम मन्दिरको प्रतिकृति बनाइएको बताइएको छ।











