खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा युनाइटेड एफसी दार्जीलिङले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा शनिवार भएको टुर्नामेण्टको चौथो म्याचमा युनाइटेड दार्जीलिङले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट गणेश लिम्बुले आठौं र प्रणय राईले ५९औं मिनटमा गोल गरे। यसरी सिलगढ़ी युनाइटेडबाट एनोस राईले २१औं मिनटमा गोल गरे। म्याच हारे पनि सिलगढ़ी युनाइटेडका कबीर लामालाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा आमुक्त परिवार र गत सीजनको च्याम्पियन कालेबुङको युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र भूटानको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २९ जनवरीमा हुनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।