मिरिक: मिरिक नगरपालिकाको पहलमा मिरिक बजार तथा कृष्णनगर क्षेत्रमा मोठ तीसवटा हाईमास लाईट जडान हुने भएको छ। आज मिरिक नगरपालिका अध्यक्ष एलबी राईले उक्त कार्यको शिलान्यास गरे भने लाईट जुन स्थानहरूमा लाईट जडान गरिनेछ उक्त स्थानहरुको राईले स्थलगत निरीक्षण पनि गरे। यसक्रममा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आज शिलान्यासपछि कतिपय स्थानहरू पहिलेबाट नै पक्का गरिसकेको र हाल अन्य कुन कुन ठाउँहरूमा लगाउनु पर्ने भन्नेबारे निरीक्षण गरिरहेको नगरपालिका अध्यक्ष एलबी राईले बताए। मिरिकमा मोठ तीस वटा लाईट लाग्ने जसको लागत खर्च एक करोड सैतिस लाख रूपियाँ रहेको बताउदै आजदेखि नै लाईट जडान गर्ने कार्य आरम्भ हुने बताएका छन्। उक्त लाईट हाल मिरिक बजार अनि कृष्णनगरको विभिन्न स्थानहरूमा जडान गरिने र आफूहरूले यो भन्दा अघि ६ सय ५० वटा स्ट्रिट लाईटको प्रस्ताव राखेकोमा अहिलेसम्म ३ सय ५० वटा लाईट जडान गरिसकेको साथै रहल ३ सयवटा स्ट्रिट लाईट अन्य वार्डहरूमा जडान गरिने बताए। आजदेखि शुरू भएको हाई मास लाईट जडान गर्ने कार्य लगभग चार वा पाँच महिनाभित्र पूर्ण गरिने पनि उनले थप जानकारी गराए। स्मरण रहोस्, वर्ष २०१७ मा मिरिक नगरपालिकाको बागडोर एलबी राईले सम्हालेपछि नगरपालिका क्षेत्रमा धेरैवटा विकासमूलक कार्यहरू भइरहेको छ। यसैक्रममा अब मिरिक नगरपालिकावासीले हाईमास लाईटको सेवा पनि पाउने भएका छन्।