असम लोकसेवा आयोगको परीक्षाको फलाफल

IMG-20240120-WA0148.jpg

असममा हाम्रा युवापिँढी प्रशासनिक सेवामा आउँदैछन्: रेवतीरमण सापकोटा,ओदालगढी

भर्खरै असम लोक सेवा आयोगले गत नौ महिना अघि अनुष्ठित गरेको प्रतियोगितामूलक परीक्षाको नतिजा प्रकाशित गरेको छ। यसपालिको यो परीक्षाको नतिजा हामी असमेली गोर्खाहरूको निम्ति धेरैतिरबाट महत्वपूर्ण रहेको छ। अहिलेसम्म थाहा लागे अनुसार हाम्रा मोठ ४६ जना भाइबहिनीहरूले मोठ उत्तीर्ण भएका ९१३ जनाभित्र आफ्नो प्रतिभा देखाउँदै विभिन्न विधामा राजपत्राङ्कित सरकारी उच्च ओहदाका जागिरका लागि छनौट भइसकेका छन्। थरले गर्दा एक-दुईजनाको नाम हामीले स्पष्ट पाएका छैनौं। अर्थात् ४६ जना मात्रै होइन,अरू धेरै पनि हुनसक्छन्।
जे होस्, हाम्रा प्रतिभाधर भाइबहिनीहरूले यसपालि मेधाको कुरामा असमेली गोर्खा समाजमा एक अभूतपूर्व इतिहास रचेका छन् र हामी अग्रजहरूले उनीहरूलाई आशिर्वाद दिएका छौं। केन्द्रीय लोकसेवा आयोग होस् अथवा राज्यको लोकसेवा आयोग नै किन नहोस् , दुवै परीक्षा उच्च मेधा सम्पन्न उम्मेदवारहरूलाई छनौट गर्ने जटिल प्रक्रिया हो र यस्ता तीब्र परीक्षाहरूमा सफलता पाउनु नै अथक परिश्रमको फल पाउनु हो। यो भन्दा एकवर्ष अघि भएको परीक्षामा पनि असम लोकसेवा आयोगको परीक्षामा असमभरि पहिलो स्थान पाएर बाक्सा जिल्लाका निकासीवासी भाइ श्री बिजित पाठकले नौलो इतिहास रचेका थिए। यो सफलताले हाम्रा उच्चशिक्षित युवावर्गमा आत्मविश्वास र मानसिक ऊर्जा भरेको थियो। यसपालि हाम्रा युवा ३५ जना सफल भएका छन् भने हामी आशा गर्दछौँ अर्कोपालि यो सङ्ख्या अवश्यै बृद्धि भएर ७०/१०० पुग्नेछ।
भ्रष्टाचारको बिरुद्ध केन्द्रका साथै असम सरकारले पनि शुन्य सहनशील नीति अपनाए पछि हाम्रा गाउँ घरका दरिद्र परिवारका सन्तानले पनि आफ्नो प्रतिभा देखाउन मौका पाएका छन्। जसको प्रतिभा छ, उनीहरूले आ आफ्नो योग्यता अनुसारको सरकारी उच्च ओहदाको राज पत्राङ्कित जागिर असममा पाउन लागेका छन्। विगत साल पनि हाम्रा नेपालीभाषी युवा प्रतिभाधरहरूले असम लोकसेवा आयोगको परीक्षामा पहिलो स्थान सहित सातवटा स्थान पाएर अहिले उच्च ओहदाका प्रशासनिक सेवामा कार्यरत छन्। त्यसैको परोक्ष अथवा प्रत्यक्ष प्रभावले होला यसपालि २०२३ सत्रको प्रशासनिक सेवाका विभिन्न परीक्षामा ४६ जना नेपालीभाषी उम्मेदवारको छनौट भइसकेको छ। हामी असमका नेपालीभाषी के सोच्छौं भने बङ्गालमा पनि हाम्रा उच्चशिक्षित भाइबहिनीहरूलाई केन्द्रीय अथवा बङ्गालको लोकसेवा आयोगको परीक्षामा योगात्मक मनोभाव र आत्मविश्वास लिएर अवतीर्ण हुन सकुन्, हाम्रो शुभकामना सदैव उनीहरूसित छ।
अब उसो हामी अग्रजहरूले हाम्रा विभिन्न जातीय अनुष्ठान मार्फत बौद्धिक आन्दोलन चलाउनु पर्छ र असमको सबै जिल्लाहरूमा मनग्गे पुग्ने गरी एसीएस,एपीएस, एइएस, एएफस अधिकारीहरूको तैनाथ गराउनु पर्छ। यसो गर्दा हाम्रा धेरै समस्याहरूको निर्मुलका लागि सरल हुन्छ। अहिलेको सरकारले तृणमूल स्तरबाट गरीबघरका मेधालाई पनि न्याय दिएको हुनाले यो सुविधा हाम्रा मानिसले लिन जान्नु पनि पर्छ। खुसीको कुरा के भने हाम्रा युवावर्ग यस क्षेत्रमा सचेत हुन् लागेका छन्। आशा छ, यो कुरालाई सबैले मनन गर्नुहुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *