गान्तोक: राज्यपाल लक्ष्मणप्रसाद आचार्य अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मेघालयको शिलाङस्थित स्टेट कन्भेन्सन सेन्टरमा आयोजित पूर्वोत्तर परिषदको ७१औँ पूर्ण सम्मेलनमा सहभागिता जनाए।
केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा सम्पन्न सम्मेलनमा उत्तर पूर्वी राज्यहरूका राज्यपालहरू र मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो।
यसै गरी केन्द्रिय डोनर मन्त्री जी किशन रेड्डी, डोनर राज्य मन्त्री बीएल वर्मा लगायत गृह मन्त्रालय र डोनर मन्त्रालय, भारत सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्री तामाङको साथमा सिक्किम सरकारका मुख्य सचिव भीबी पाठक, मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल, योजना तथा विकास विभाग, सिक्किम सरकारका सचिव रिञ्जिङ छेवाङ भोटिया सहभागी थिए।
केन्द्रिय गृहमन्त्री तथा पूर्वोत्तर परिषद्का अध्यक्ष अमित शाहलाई हार्दिक बधाई दिँदै मुख्यमन्त्री प्रेमसिंह तामाङले उत्तर-पूर्वी क्षेत्रको विकासमा निरन्तर सहयोग र मार्गदर्शनका लागि केन्द्र सरकारप्रति कृतज्ञता व्यक्त गरे। सिक्किममा गत ३-४ अक्टोबर २०२३ मा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकटको बारेमा बोल्दै मुख्यमन्त्रीले प्रधानमन्त्री, केन्द्रिय गृहमन्त्री र केन्द्र सरकारलाई समयमै सहयोगका लागि हार्दिक धन्यवाद दिए।
प्रभावित क्षेत्रको अस्थायी बहाली र स्थायी पुनर्निर्माणका लागि भारत सरकारलाई संयुक्त ज्ञापन पत्र बुझाइएको र तत्काल कदम चाल्ने अपेक्षा गरिएको मुख्यमन्त्रीले अवगत गराए। मुख्यमन्त्रीले विशेष गरी मार्च २०२४ सम्म पीएमजीएसवाई कार्य पूरा गर्न विस्तारित समयसीमालाई ध्यानमा राख्दै डोनर मन्त्रालय र उत्तर-पूर्व परिषदलाई राज्यको अर्थव्यवस्थाको लागि महत्त्वपूर्ण पुनर्स्थापनाका लागि गरिने गतिविधिहरू शीघ्र सञ्चालन गर्नको निम्ति आर्थिक सहयोगको अपील गरे। कमजोर सुरक्षा पर्खालको कारण पाकिम जिल्लाको ग्रीनफिल्ड विमानस्थलमा उडान सेवा स्थगन भएको ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले भारत सरकारलाई शीघ्र समाधान गर्नुपर्ने आग्रह गरे।