‘नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन चाहन्थे योगेश वैद्य’

Screenshot_20240119_170417_Dailyhunt.jpg

काठमाडौं: नेपाली सुगम संगीतका धरोहर योगेश वैद्यको महाप्रस्थानले संगीत क्षेत्र स्तब्ध बनेको छ। ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’जस्ता कालजयी गीत गाएका वैद्यले बिहीबार राति अन्तिम सास लिए। २०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि वैद्य एकाएक चर्चित भए। त्यतिबेला चलेको भाषिक आन्दोलनमा सक्रिय भएका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण लगायतको समर्थन थियो। १९६९ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गाएपछि उनको चर्चा झनै चुलियो। ‘नेपाल मेरो उपहार भो’लाई मबीबी शाहले लेखेका हुन्। यो गीत वैद्यको आवाजमा १९७१ सालमा रेकर्ड भयो। १९८८ सालमा उनले रेकर्ड गराएको ‘सपना भुलाई सारा’ आजपर्यन्त मर्मस्पर्शी छ। यो गीत रेकर्ड हुँदा रचनाकार को हुन् भन्ने वैद्यलाई थाहै नभएको उनी निकट बताउँछन्। सरकारी जागिरे भएपनि संगीतप्रतिको उनको निष्ठा र मोह कहिल्यै अलग भएन।त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे। संगीतमा सात दशक बिताएका वैद्यले नेपाली संगीतमा सांगीतिक पदचाप छाडेर गएका छन् ।उनलाई नजिकबाट चिन्ने हितैषी र संगीतकर्मी वैद्यलाई कुशल गायक, गीतकारको रुपमा चिन्छन्। नेपाली मौलिक गीत-संगीतलाई अन्तर्राष्ट्रियरुपमै फैलाउनुपर्छ र छिमेकी मुलुकको संगीतको तुलनामा प्रतिस्पर्धी हुनुपर्छ भन्ने उनको सोच रहेको निकट संगीतकर्मी बताउँछन्। जसमध्ये एक हुन् शम्भुजीत बास्कोटा। शम्भुजीतले कुराकानीमा यसरी वैद्यलाई सम्झिएका छन्:
योगेश वैद्य दाइको योगदानको बारेमा राष्ट्रले कसरी बोल्छ थाहा छैन, उहाँ सुगम संगीतको लागि उहाँ संरक्षक हुनुहुन्छ। उहाँले समय–समयमा दिएका अभिव्यक्ति, उहाँले गाएका गीतहरु, उहाँको गीत–संगीत छनोटका कुरा गर्दा उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्छ। उहाँले बीचमा मेलोडी, आधुनिक गीत, सदाबहार गीतहरु गुञ्जिरहोस् भन्ने आशय बोक्नुभएको थियो। नेपालको संगीत क्षेत्रले उज्वल भविष्य पाओस्, नेपाली गीतसंगीतका स्रष्टा पनि छिमेकी मुलुकका कलाकारजस्तै प्रतिस्पर्धामा उत्रिन सिक्नुपर्छ र आफ्नो आवाजका मौलिकतालाई विश्वभर फैलाउन सक्नुपर्छ भन्ने भावना राख्नुहुन्थ्यो ।उहाँले पहिले पनि नेपाली र नेपाल भाषाका अनेक गीत गाएर योगदान पुर्‍याउनुभएको छ। उहाँ नेपाल सरकारको कर्मचारी पनि हुनुहुन्थ्यो, उहाँले वैद्यखानामा बसेर काम गर्नुभयो। नेपाली संगीतका स्रष्टालाई सदा सुझाव दिने काम गर्नुहुन्थ्यो। नातिकाजी स्मृति समाजका उहाँ संस्थापक सल्लाहकार पनि हुनुहुन्छ। उहाँ नातिकाजीका पनि प्रिय गायक हो। आज बिहान पनि मैले बच्चु कैलाश दाइसँग कुरा गरेको थिएँ। वैद्य दाइको निधनमा उहाँले पनि दुःख प्रकट गरिरहनुभएको थियो। मैले योगेश दाइको योगदानको बारेमा जति पनि बताएँ नि, त्यो त उहाँले गरेको सरल र प्रत्यक्ष देखिने कामका विषयवस्तु मात्र हुन्।उहाँले कविता लेख्नुहुन्थ्यो। आफैं गीत लेख्नुहुन्छ। संगीत गर्नुहुन्छ। मलाई लाग्छ उहाँको घरमा धेरै सिर्जना त्यत्तिकै थन्किएका छन् अझै पनि। तीन दिन अगाडिसम्म म कुरा गर्दै थिएँ। मानिसको जीवन सोच्नै नसक्ने हुने रहेछ। ‘सपना भुलाई सारा’ भन्याजस्तो ‘यो लामो जीवनमा किन म हतास हतास छु’, उहाँका गीतले जीवन बोकेको हुन्छ। जीवनको यथार्थतालाई अँगालेको हुन्छ। उहाँलाई धेरै मिस गरिराखेको। उहाँ मखमली आवाजको धनी हो। उहाँको आवाजको फ्यान हुँ। मेरा केही गीतहरु गाउनुभएको छ। उहाँ जाँदै हुनुहुन्छ तर उहाँले छाडेका कृतिहरु, उहाँका संगीतहरु, सुमधुर आवाजहरु हामीसँगै रहिरहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement