कालचिनीः एसएसबी ३४ वाहिनी सशस्त्र सीमा बलले नागरिक कल्याण कार्यक्रम अन्तर्गत भोटाङ सीमान्त क्षेत्र जयन्ती र भोटे बस्ती गाउँका २० जना ग्रामीण बालिका/महिलाहरूलाई २० दिने ब्युटिशियन तालिम २८ दिसम्बरको दिनबाट शुरु गरेको थियो भने सो प्रशिक्षणको समापन शुक्रबार भएको जानकारी एसएसबी सुत्रले दिएका छन्। सो समापन समारोहमा एसएसबी ३४ वाहिनीका कमाण्डिङ अफिसर पवन कुमार, कम्पनी कमाण्डर इन्स्पेक्टर प्रदीप कुमार मौर्य र स्थानीय प्रतिष्ठित समाजसेवीहरू राजीब लामा, सुशान्त कर प्रधानाध्यापक, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज सुनिता शर्मा र सन्तोष महतोको एवम् क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
सशस्त्र सीमा बलको ३४ वाहिनीले आफ्नो कार्यक्षेत्रमा नागरिक कल्याण कार्यक्रमअन्तर्गत सीमावर्ती क्षेत्रका युवालाई निरन्तर रोजगारी तालिम दिइरहेको छ तर त्यसैक्रममा महिलालाई पनि आत्मनिर्भर बनाउँदै लैजाँदै आएको छ। यसै क्रममा सीमावर्ती गाउँका महिलाहरूलाई विभिन्न रोजगारी तालिम दिने सिलसिला चलिरहेको जनाएका छन्। एसएसबी ३४ वाहिनीका कमाण्डिङ अफिसर पवन कुमारले आफ्नो सम्बोधनमा ३४ वाहिनी सशस्त्र सीमा बल अलिपुरद्वारले आयोजना गरेको यो रोजगारी तालिम सीमा क्षेत्रका महिला सशक्तिकरणका लागि महत्वपूर्ण पहल भएको बताउँदै यसले स्वरोजगारको बाटो खोल्ने जनाएका छन्।