भाषा मान्यता दिवस भव्य रूपमा पालन गरिने

कञ्चनजङ्घा राष्ट्रिय पुरस्कारले सानु लामा, रञ्जीत गजमेर र विक्रमवीर थापालाई पुरस्कृत गरिने

गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमले ३१औं नेपाली भाषा मान्यता दिवस समारोह २०२२ भव्यतापूर्वक पालन गर्ने निश्चय गरेको छ।
परिषद्ले भाषा मान्यता दिवसको अवसरमा यस वर्षदेखि राष्ट्रिय स्तरमा साहित्य, संगीत र कला विधामा तीनवटा पुरस्कार प्रदान गर्ने निर्णय लिएको छ, जसलाई “कञ्चनजङ्घा राष्ट्रिय पुरस्कार” नामाकरण गरिएको छ। नियमअनुसार यो पुरस्कार वर्षमा एउटा विधामा मात्र दिइने प्रावधान रहेको छ। यद्यपि प्रथमपल्ट भएकाले यस वर्ष परिषद्को चयन समितिले तीनवटा विधामा प्रदान गरिने राष्ट्रिय पुरस्कारको निम्ति तीनजनाको नाम चयन गरेको छ। साहित्य विधामा वर्ष २०२२-को कञ्चनजङ्घा राष्ट्रिय पुरस्कारद्वारा सिक्किमका साहित्यकार पद्मश्री सानु लामालाई पुरस्कृत गरिने भएको छ। संगीत विधामा मुम्बई निवासी वरिष्ठ सङ्गीतकार रञ्जीत गजमेरलाई पुरस्कृत गरिनेछ। यसैगरी कला विधामा मेघालयका वरिष्ठ चित्रकार एवम् साहित्यकार वीरविक्रम थापालाई पुरस्कृत गरिने भएको छ। आगामी २० अगस्त २०२२-को दिन गान्तोकको मनन भवनमा आयोजन हुने भाषा मान्यता दिवस समारोहमा तीनजना व्यक्तित्त्वलाई पुरस्कृत गरिनेछ। पुरस्कारमा नगदराशि १ लाख रुपियाँ, प्रशस्त्रि-पत्र, स्मृति चिन्ह र अङ्गवस्त्र रहेको छ।
बुधवार नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय लिएको हो। परिषद्ले भाषा मान्यता दिवस समारोहमा मुख्य अतिथिका रूपमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आमन्त्रण गर्ने भएको छ भने समारोहको अध्यक्षता गरिदिन भाषा संग्रामी तथा पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीलाई आमन्त्रण गर्ने निर्णय लिएको छ। समारोहमा सिक्किम विश्वविद्यालयबाट नेपाली विषयमा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कार प्रदान गरिनेछ भने स्थानीय कलाकारहरूद्वारा संगीतमय कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement