गान्तोक। एनएचपीसी अनि सिक्किम सरकारको विद्युत विभागको संयुक्त तत्वावधानमा आजादीको अमृत महोत्सव अन्तर्गत भारतको स्वाधीनताको ७५औं वर्षगाँठ पालन गर्न उज्ज्व भारत उज्ज्वल भविष्य विद्युत@२०४७ कार्यक्रम पश्चिम सिक्किम अन्तर्गत पेलिङ सरकारी वरिष्ठ उच्चतर स्कूलमा बिजुली महोत्सव कार्यक्रम आयोजन गरियो। कार्यक्रम विशेष रूपमा केन्द्र अनि राज्य सरकारद्वारा विद्युत क्षेत्रमा हासिल गरिएको उपलब्धिहरू प्रकाश पार्ने उद्देश्यका साथ आयोजन गरिएको हो।

कार्यक्रममा गेजिङ नगर पञ्चायतका सभापति देवेन्द्रप्रसाद शर्मा मुख्य अतिथि रहेका थिए। यस अवसरमा बोल्दै शर्माले विगत केही वर्षको अवधिमा विद्युत क्षेत्रमा गरिएको अप्रत्याशित विकासका साथै यसको महत्त्वबारे प्रकाश पारे।
कार्यक्रममा जिल्लापाल श्रीमती हिस्से डी योङडा, एसडीपीओ सोनाम वाङदी, विद्युत विभागका अतिरिक्त मुख्य अभियन्ता सोनाम दोर्जी, मुख्य शिक्षा अधिकारी सुबैया, एसडीएम गोपाल छेत्री, पेलिङ सरकारी वरिष्ठ उच्चतर स्कूलका प्रधानाचार्य वाईएन राणा नीति आयोगका सदस्य कुन्ताल लगायत दराप अनि चुम्बुङका पञ्चायत सदस्यहरू पनि उपस्थित थिए।
यस अवसरमा केही लाभार्थीले आफ्नो अनुभव साझा गरे भने कार्यक्रमलाई जीवन्त राख्न विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा सडक नाटक अनि लघु वृत्तचित्रहरूको प्रदर्शनी पनि राखिएको थियो।