१८ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा आमुक्त परिवारले क्वार्टर फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा बिहीवार भएको टुर्नामेण्टको दोस्रो म्याचमा आमुक्त परिवारले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अमर तामाङ, पियुष ठाकुरी, शिव सुवेदी र दामोदर थापाले गोल गरे। यसरी यूकेएफसी-बाट छेवांग तामाङ र पेमा लामाले गोल गरे। पियुष ठाकुरीलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने म्याचमा ब्राइट स्पोर्टिंग क्लब र युनाइटेड टुंग फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र भूटानको टीम पनि सामेल छन्।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २९ जनवरीमा हुनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।