१८ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा युनाइटेड एफसी दार्जीलिङले असाधारण पुनरागमनको साथ रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो । बिहीवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले दार्जीलिङ पुलिसलाई ३-२-ले पराजित गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा दार्जीलिङ पुलिसबाट प्रीतम सुब्बाले २०औं र प्रशान्त (भाइचुङ) राईले ५२औं मिनटमा गोल गरे। यसरी युनाइटेड एफसी दार्जीलिङबाट फ्रांकोले ४४औं र प्रणय राईले ६३औं मिनटमा गोल गरे। नियमित ९० मिनटको खेलमा स्कोर बराबरीमा रहेपछि ५-५ मिनटको दुई हाफमा अतिरिक्त समयको खेल भयो, जसको चौथो मिनटमा इन्द्रजीत छेत्रीले गोल गरी युनाइटेड एफसी दार्जीलिङलाई यादगार जीत दिलाए। इन्द्रजीत छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने चौथो प्री-क्वार्टर फाइनल म्याचमा सुकना युनाइटेड एफसी र सिक्किम पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। संशोधित कार्यक्रम अनुसार दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ।

यसरी फाइनल २७ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।