खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा तीनधारे महानदी क्षेत्रमा पनि समष्टी स्तरीय शहीद दिवस कार्यक्रम सम्पन्न भएको छ। उक्त समष्टी स्तरीय शहीद दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको नव निर्वाचित सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। समष्टीको पहिलो शहीद दिवस कार्यक्रम महानदीमा सम्पन्न भएको थियो जसमा महानदीको मोटर स्ट्याण्डमा रहेको शहीद वेदीमा प्रमुख अतिथि सभासद नवराज छेत्री लगायत अन्यहरूले शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए।

त्यसरी नै दोस्रो कार्यक्रम घैयाबारीमा सम्पन्न भएको थियो जसमा घैयाबारीमा रहेको शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै शहीदहरूको परिवारहरूलाई सम्बर्ध्दना जनाइएको थियो। त्यसरी नै तेस्रो कार्यक्रम तीनधारेमा सम्पन्न भएको थियो। तीनधारेको चिल्ड्रेन पार्कमा रहेको शहीद वेदीमा शहीदहरूलाई प्रमुख अतिथि सभासद नवराज छेत्रीको बाहुलीबाट श्रध्दाञ्जली अर्पण गरिएको थियो। त्ययपछि तीनधारेको महात्मा गाँधी हलमा शहीद दिवस कार्यक्रम समष्टी स्तरीय शहीद दिवस आयोजक समितिको सभापति रबीन सुब्बाको अध्यक्षता र सभासद नवराज छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई नवराज राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सिर्जना तामाङले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले महानदी, घैयाबारी र तीनधारेमा सम्पन्न शहीद दिवस कार्यक्रममा सम्बोधन गर्दै हामीले आज शहीद दिवस आयोजक समितिको तर्फबाट शहीदहरूको परिवारहरूलाई सम्बर्ध्दना जनाइएको छ भन्दै शहीदका परिवारहरू कुन अवस्थामा छ र तो कस्तो सहुलियतहरू पाएका छन् छैनन् सोध खोज गरिदिने अनुरोध गरेका छन्। सभासद नवराज छेत्रीले शहीद दिवस पार्टी पार्टीले नगरेर सबैजना एकमुष्ठ भएर राम्रो प्रकारले छुट्टै कार्यक्रम गरेर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नु पर्ने बताएका छन्।

कार्यक्रममा गीतकार सुकुमार बराईली, राजनारायण प्रधानले पनि वक्तव्य राखेका थिए। तीनधारेको साई समितिद्वारा भजन गाएर सुरु गरिएको कार्यक्रममा तीनधारे क्षेत्रबाट गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएका तीनजना शहीदहरू क्रमैले किशोर थापा -तीनधारे, बिनय गुरुङ क्रिकेट बजार र मणिकुमार मंगर- सिपाहीधुरा आदिको परिवारहरूलाई खदार्पणसहित शल ओढ़ाएर स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको थियो। कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, उप सभापति राजु लामा, सचिव सञ्जीव लामा, नारी शक्ति समष्टि सभापति निरा प्रधान, सचिव भगवती प्रधान, युवा शक्ति समष्टि सभापति केवल राई, सचिव सञ्जीव मंगर, ट्रेड युनियनको केन्द्रीय सह सचिव राजेस थापा, जोनल सभापति गणु छेत्री लगायत विभिन्न संघ संस्थाहरू र विद्यालयहरूका प्रतिनिधिहरू साथै अन्यहरू उपस्थित रहेका थिए।