नाम्ची: जोरथाङ माघे संक्रान्ति मेला २०२४ को तेस्रो दिन बुधवार ग्रामीण खेलकुद अन्तर निर्वाचन क्षेत्र फुटबल टुर्नामेन्ट र जोरथाङ माघे संक्रान्ति खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत कुल तीन फुटबल खेल खेलाइयो।
यस अवसरमा कृषि एवं बागवानी तथा श्रम विभाग मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि थिए।
ग्रामीण खेलकुद अन्तर निर्वाचन क्षेत्र फुटबल टुर्नामेन्ट अन्तर्गत नामथाङ रातेपानी निर्वाचन क्षेत्र र याङथाङ निर्वाचन क्षेत्रबिच तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न भयो। यस खेलमा नामथाङ रातेपानीले प्रतिद्वन्दी दललाई शुन्यको विरूद्ध तीन गोलले पराजित गऱ्यो। विजयी दलका अजय तामाङलाई म्यान अफ् द म्याच चयन गरियो।
जोरथाङ माघे संक्रान्ति खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत दुई खेल खेलाइयो। पहिलो खेल सिक्किम ड्रेगन एफसी र सिनाल्चु एफसीबिच सम्पन्न भयो जसमा सिक्किम ड्रेगनले प्रतिद्वन्दी दललाई शुन्यको विरूद्ध एक गोलले पराजित गऱ्यो। विजयी दलका आकाश सुन्दासलाई म्यान अफ् द म्याच चयन गरियो।
यसैगरी, दोस्रो खेलमा युकेएफसीले आक्रमण एफसीलाई ५-४ गोलले पराजित गऱ्यो। विजेता दलको चयन पेनल्टी शुटआउटद्वारा गरिएको थियो। यस खेलमा युकेएफसीका भाइचुङ राईलाई म्यान अफ् द म्याच चयन गरियो।