खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको गिताङ्गे चियाबारीमा आजदेखि एघार दिवसीय शिव महापुराण शुरु भएको छ। गिताङ्गे चियाबारीको तीन कन्या र शिव मन्दिरमा आजदेखि शुरु भएको शिव महापुराणमा पहिलो दिन कलश यात्रा निकालिएको छ। उक्त कलश यात्रा गिताङ्गेको तीन कन्या शिव मन्दिरबाट निकाले गाउँ परिक्रमा गरेर पुन: मन्दिरमा आई मन्दिर परिक्रमा गरेर समाप्त भएको छ। आजदेखि शुरु भएको यो शिव महापुराण आगामी २६ जनवरीसम्म चल्ने भएको छ। आज १७ जनवरी कलश यात्रापछि महापुराणको कथा वाचन शुरु हुने र लगातार रूपमा कथा वाचनसहित भजन कीर्तन र संगीतमय पूजा अर्चना हुने भएको छ भने २६ जनवरीको दिन हवन गरिने भएको छ। यस शिव महापुराणमा मुख्य कथा वाचकको रूपमा काठमाण्डौबाट पण्डित डा यादवप्रसाद गरतौला र उप कथा वाचकमा रोहित गरतौला उपस्थित हुने साथै भजनमय संगीतमा योगेस यत्री र समूह रहने भएको छ।

महपुराणको शुरुमा घैयाबारीका पण्डित योग आचार्य कोईरालाद्वारा पूजा अर्चना गरिएको छ। पहिलो दिनको महापुराणमा तीनधारे महानदी समष्टीके सभासद नवराज छेत्री र पञ्चायय समिति सदस्य कुसाङ लामा लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त शिव महापुराण आयोजना विषयमा बोल्दै उदय छेत्री र राजीव थापाले विस्तृत रूपमा बताएका छन्।










