कोलकाता: पश्चिम बङ्गाल स्कूल सेवा आयोग घोटालामा मन्त्री पार्थ च्याटर्जी घेरिएका छन्। उनको नजिकको सहयोगी अर्पिताको घरमा ईडीको छापामारमा २१ करोड नगदसहित केही यस्ता सुराग पनि भेटिएका छन्, जसले यस घोटालाको रहस्य उजागर गर्नसक्ने रहेको संचारमाध्यमको रिपोर्टमा उल्लेख छ। अर्पिता मुखर्जीको निवासबाट बरामद गरिएको कालो डायरी र पकेट डायरीमा कोड प्रविष्टिले एसएससी घोटालामा धेरै रहस्यहरू खोल्न सक्ने अनुमान गरिएको छ। पार्थ च्याटर्जी ३ अगस्तसम्म ईडीको हिरासतमा छन् र उनसित सोधपुछको प्रक्रिया चलिरहेको छ।
प्रवर्तन निदेशालय (ईडी) स्रोतका अनुसार यी दुवै डायरीमा धेरै कोडहरू प्रविष्ट गरिएका छन्। यससँगै पश्चिम बङ्गाल विद्यालय सेवा आयोग भर्ती घोटालामा भएको घुसखोरी खोलिन सक्ने आनुमान लगाइएको छ। ईडीको दावीअनुसार शिक्षकहरूलाई मोटो रकममा भर्ती गरिएको थियो। डायरीमा कोडहरू मार्फत गरिएका प्रविष्टिहरू घोटाला प्रक्रियाको सहज रूपमा चलाउनका लागि निश्चित व्यक्तिहरूलाई भुक्तानी गर्न सम्बन्धित हुनसक्छ। ईडी स्रोतका अनुसार यी डायरीहरूमा लेखिएका कोडहरूलाई विज्ञहरूको सहयोगमा डिकोड गर्ने काम सुरु भएको छ।