गान्तोक: हेभेन्ली निर्वाण पाथको लभिजम स्पोर्ट्स क्लब र सिक्किम ओलम्पिक एसोसिएशनले आगामी २२ देखि २७ जनवरीसम्म मिनी ओलम्पिक खेल आयोजना गर्ने भएको छ। नाम्चीमा आयोजना गरिने मिनी ओलम्पिकमा एथलेटिक्स, आर्चरी, फुटबल, भलिबल र ब्याडमिन्टन गरि कूल पाँच खेललाई समावेश गरिनेछ।
लभिजम स्पोर्ट्स क्लब र सिक्किम ओलम्पिक एसोसिएशनले मङ्गलवार गान्तोकमा आयोजन गरेको पत्रकार सम्मेलन अवधि सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले सिक्किमका नानीहरूले अवसर प्राप्त गरुन भनेर सिक्किम मिनी ओलम्पिक खेल आयोजना गरिने तय भएको बताए। एथलेटिक्समा आयोजन हुने मेराथान भेटरन र ओपन रहनेछ भने अन्य खेलमा २१ वर्ष मुनीका खेलाडीको सहभागिता रहनेछ।
आगामी २२ जनवरीका दिन खेल तथा युवा मामिला विभागका मन्त्री साम्डुप लेप्चाले खेलको उद्घाटन गर्नेछन्, जस अवसरमा हेभेन्ली पाथका गुरुको पनि उपस्थिति रहनेछ। नाम्चीमा आयोजना गर्ने खेललाई मिनी ओलम्पिकको रूप दिन झण्डा उत्तोलन र टर्च रिले आयोजन गरिने जसमा पूर्व वरिष्ठ खेलाडी सहभागी रहनेछन्।